काठमाडौँ – अब वाणिज्य बैंकहरुमा सुन राख्दा पनि ब्याज पाइने भएको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा सुन राख्दा ब्याज पाइने व्यवस्था गरेको हो।
निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले बिहिबार वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। सुन निक्षेप संकलनका लागि विस्तृत कार्यविधि तयार पार्ने अधिकार भने बैंकहरुलाई नै दिइएको छ।
यस अधिकार सँगै बैंकहरुले सुन निक्षेप संकलनका सम्बन्धमा आफैं विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्न सक्नेछन्।
वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।
नेपाल राष्ट्र बैंक
व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह
नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । विभागले आज सूचनामार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा २०० भन्दाबढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार पटकपटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरुलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिएको हो ।
विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानूनीरुपमा छली गरेको पाइएकाले सार्वजनिकरुपमा नै उनीहरुलाई उपस्थित हुन भनेको महानिर्देशक मैनालीको भनाइ छ । वर्तमान सरकार गठन भएसँगै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ । नयाँ संरचनालगत्तै विभागले नक्कली भ्याट बिल तथा अन्तःशुल्क छलीको मात्रै रु १५ अर्ब बराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ ।
आज प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनीहरुलाई विभागले पटकपटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको जनाइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ ।