काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। बुधबार बिहान १० बजेपछि शुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया अपराह्न सफल भएको हो।
शल्यक्रियामा संलग्न चिकित्सकहरुका अनुसार भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपण सफल भएको छ। ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको समेत बताइएको छ।
प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेसँगै ओलीले पिशाव समेत फेरेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्। मिर्गौलाले काम गरेपछि चिकित्सकहरुले टाँका लगाउने काम गरेका छन्।
शाल्याकिया सफल भई सकेको हुँदा ओलीको होस आउन अब करिब २ घण्टा सम्म लाग्न सक्ने चिकत्सकहरुको अनुमान छ। होस आएपछिको अवस्था अध्ययन गरेर थप प्रक्रिया चालिने चिकित्सकहरुले बताए।
करिब एक हप्ता सम्म अस्पताल राखेर प्रत्यारोपण गरिएको मिर्गौलाले काम गरे नगरेको अध्ययन गरिने र त्यसको परिणाम सन्तोषजनक आएपछि ओलीलाई डिस्चार्ज गरिएको अस्पताल श्रोतको भनाई छ। बताइएअनुसार, डिस्चार्ज पछि पनि ओली विशेष आराममा हुनेछन्। ओलीले करिब एक महिना स्वास्थ्यलाभ गर्न पर्ने चिकित्सकहरुको भनाई छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण सम्पन्न गराएको हो।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु मंगलबार देखिनै गरिएको थियो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।