मन्त्रीको ठाडो निर्देशनमा घरटहरामा डोजर चल्यो

जलेश्वर – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ मा अवस्थित नेपाल सरकारको गाई गौशालाको जग्गामा वर्षौंदेखि कब्जा गरेर पक्की, अर्धपक्की तथा कच्ची घर बनाएर बसिरहेका करिब तीन दर्जन घरटहरा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालयको निर्देशनमा हटाउन थालिएको छ ।

मन्त्री अर्याल आज स्वयं उपस्थित भई गाई गौशालाको जग्गा अतिक्रण गरी बनाइएको ३० घरटहरा डोजर लगाएर भत्काउन र हटाउन शुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।

उनका अनुसार डोजर लगाएर त्यहाँस्थित १० वटाभन्दा बढी पक्की भवन, पसल, टहरा तथा अन्य प्रकृतिका घर भत्काउन शुरु गरिएको हो । पटकपटक चेतावनी दिँदा पनि स्थानीयले अटेरी गरेपछि अन्तिम पटकको ३५ दिने म्यादसहितको चेतावनी फागुन १२ गतेका दिन सकिएपछि शनिबार साँझ ५ बजे कुनै पनि बेला त्यहाँको घरटहरा डोजर र प्रहरी बल लगाएर हटाउन सकिने स्थानीयवासीलाई भनिएको थियो ।

सोही क्रममा आज विभागीयमन्त्री अर्यालयको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी खत्रीसहित व्यापकरूपमा प्रहरीसमेत त्यहाँ पुगेर अतिक्रमित जग्गाभित्र रहेका घरटहरा हटाउने काम भइरहेको छ । यता वर्षांैदेखि बस्दै आएका घरटहरा अचानक टुटफुट तथा भत्काउने काम हुन थालेपछि स्थानीयवासी आत्तिएका छन् भने सो बस्तीभरि रुवाबासी र खैलाबैला मच्चिएको छ ।

प्रकाशित : , ०, ०१३:२४

यात्रुको स्वास्थ्य जाँच प्रबन्धका लागि कार्यदल