काठमाडौँ: विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ सम्भावना जीवितै राखेको छ।
त्रिवि मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा काठमाडौँले ११८ रनको साधारण लक्ष्य पछ्याउँदै १८.१ ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्दै जित हात पारेको हो।
विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ। लिगमा सबै सात खेल खेलिसकेको काठमाडौँले ८ अंक हासिल गरेको छ।
अब काठमाडौँको प्लेअफ यात्रा सोमबार कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको नतिजामा निर्भर रहनेछ। उक्त खेलमा कर्णाली ठूलो अन्तरले पराजित भए काठमाडौँको प्लेअफ यात्रा सुनिश्चित हुनेछ। हालसम्म ६ खेल खेलेको कर्णालीले पनि ८ अंक जोडेको छ।
काठमाडौँको जितसँगै समान ८ अंक बनाएको सुदूरपश्चिम रोयल्सले दुई खेल बाँकी छँदै, र चितवन टाइगर्सले नेट रनरेटका आधारमा प्लेअफ स्थान सुरक्षित गरेका छन्। यसअघि नै १० अंक बनाएको जनकपुर बोल्ट्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ।
काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए। यस्तै, शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरास्मसले १२, दीपेश कँडेलले अविजित ११ र माइकल लेभिटले १० रन बनाए।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। चार्ल्स सोल, अनिल खरेल, र वसिर अहमदले समान २–२ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो। विराटनगरका लागि राजेश पुलामी मगरले २५ रन बनाए। ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५, वसिर अहमदले १३ र निकोलस किर्तनले १२ रन जोडे।
विराटनगरलाई सानो स्कोरमा रोक्न काठमाडौँका जेराल्ड इरास्मसले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। दीपेश कँडेलले २ विकेट लिए भने साहब आलम, करण केसी, र डानियल डाउथवेटले १–१ विकेट लिए।