काठमाडौँ : युनाइटेड अरब इमिरेट्समा चलिरहेको अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई सस्तो स्कोरमा सीमित राख्न सफल भए।
५० ओभरको खेलमा नेपालका बलरहरूको घातक बलिङका कारण अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाएर मात्र १२३ रनको योगफल खडा गर्न सक्यो।
नेपालको बलिङ प्रदर्शनमा युनिस तिवारीले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए, भने सन्तोष यादवले ४.४ ओभरमा २२ रन दिएर ३ विकेट आफ्नो नाममा लेखाए। त्यस्तै, हेमन्त धामीले ७ ओभरमा ३१ रन खर्चेर २ विकेट र अभिषेक तिवारीले ६ ओभरमा १२ रन खर्चेर २ विकेट झारे।
अफगानिस्तानको तर्फबाट फैजल सिनोजादाले ५२ रन बनाउँदै केही योगदान गरे पनि अन्य ब्याट्सम्यानहरूले साथ दिन सकेनन्।
नेपालका लागि यो समूह चरणको अन्तिम खेल हो। यसअघि श्रीलङ्का र बाङ्लादेशसँग पराजित भई नेपाल र अफगानिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।