८ टिम-८ कप्तान, ३२ खेल, १ सपना : ट्रफी उचाल्ने

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण शनिबारदेखि सुरु हुँदैछ। आठवटा फ्रेन्चाइज टोलीका कप्तानहरूले यस प्रतियोगिताप्रति आफ्नो उत्साह व्यक्त गरेका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले एनपीएलले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।

उद्घाटन खेल शनिबार जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। कप्तानहरूले एनपीएललाई खेलाडीहरूका लागि उत्कृष्ट प्लेटफर्म भएको र यसले अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने धारणा राखे।

जनकपुर बोल्ट्स अनिल साहको कप्तानीमा उत्रँदैछ भने विराटनगर किङ्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। सन्दीपले आफूले विभिन्न देशका फ्रेन्चाइज खेलमा भाग लिँदा नेपालमै यस्तै प्रतियोगिता होस् भन्ने चाहना रहेको बताउँदै यो सपना पूरा भएको उल्लेख गरे। उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज प्रतियोगिताको भूमिकालाई पनि सम्मान गर्नुपर्ने बताए।

जनकपुर टोलीले कप्तानीको जिम्मेवारी अनिललाई दिएको छ। मार्की खेलाडी असिफ शेखको परामर्शमा कप्तान बनेको अनिलले बताए। टोलीले केही अभ्यास खेल खेलेको र राम्रो तयारी गरेको उनको भनाइ थियो।

शनिबारको खेल १२:१५ बजे हुनेछ। जनकपुरले अनुभवी खेलाडी जिमी निसमलाई टोलीमा समावेश गरेको छ भने विराटनगरसँग सन्दीपसँगै आक्रामक ब्याट्सम्यान मार्टिन गप्टिल छन्।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले युवा खेलाडीको उच्च उपस्थिति र विदेशी स्टार खेलाडीहरूको साथले आफ्नो टोली राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ६/७ दिनको तयारीपछि टोली सन्तुलित रहेको र राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। उनले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

चितवन राइनोजका कप्तान कुशल मल्ल, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल र अन्य टोलीका कप्तानहरूले पनि आफ्नो उत्साह व्यक्त गर्दै तयारी राम्रो भएको जानकारी दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। प्रतियोगिता पुष ६ गतेसम्म चल्नेछ, जसमा कुल ३२ खेलहरू हुनेछ। चेन्नई सुपर किङ्समा प्रशिक्षण गरिसकेका प्रशिक्षक राजिव कुमारसहित नेपाल, भारत, आयरल्याण्ड र श्रीलंकाका प्रशिक्षकहरूले टोलीहरूलाई प्रशिक्षण दिइरहेका छन्।

प्रकाशित : , ०, ०२१:२०