काठमाडौँ : – क्यानले सोमबार आउँदो मङ्सिर १५ गते शनिबारबाट सुरु हुन् लागेको हिमालयको पर्व एसबिएल नेपाल प्रिमियर लिगको पहिलो संस्करणको टिकट मूल्य निर्धारण गरिसकेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । टिकट एनपिएलको आधिकारिक टिकेटिङ पार्टनर खल्तीबाट काट्न सकिनेछ।
मङ्सिर १५ गते एनपिएल उद्घाटनको खेलको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ राखिएको छ।
यसैगरी समूह चरणका अन्य खेलहरुमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ राखिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ।
प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७०० रुपैयाँ राखिएको छ।
त्यस्तै फाइनल खेलमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट १००० रुपैयाँ तोकिएको छ।
क्यानले एनपिएलको पहिलो सिजन भरीको लागि २० % छुट हुने सिजनल पासको पनि व्यवस्था गरेको छ। पहिलो संस्करणको पूरै प्रतियोगिता हेर्नलाई जनरलतर्फ ४,४८० रुपैयाँ तिर्नुपर्नेछ भने भीआईपी तर्फ ८,२४० रुपैयाँ तिर्नुपर्नेछ।
मङ्सिर १५ गते हुने एनपिएलको पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबीचको पहिलो खेलको भीआईपीतर्फको टिकट सोल्ड आउट भईसकेको छ। क्यानले टिकट मूल्य सार्वजनिक गरेको २४ घण्टा बित्न नपाउँदै भीआईपीतर्फको टिकट सोल्ड आउट भएको हो। यद्यपि क्यानले भीआईपीतर्फ कति ओटा सिट उपलब्ध गराएको भनेर जानकारी दिएको भने छैन्।