काठमाडौँ : नेपाल यू-१९ पुरुष क्रिकेट टोलीले कर्नाटकविरुद्धको अभ्यास सिरिज जित्दै एसीसी मेन्स यू-१९ एसिया कपको तयारीमा सुखद अन्त्य गरेको छ।
ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको शानदार अर्धशतकको सहायतले टियु क्रिकेट मैदानमा भएको पाँचौं तथा निर्णायक खेल नेपालले ७ विकेटले जित्दै सिरिज आफ्नो पक्षमा पार्यो।
१ सय ९२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४०औं ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। आकाश त्रिपाठीले उत्कृष्ट पारी खेल्दै नटआउट ८९ रन बनाए। १ सय ५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई सहज जितसम्म पुर्याए।
नेपालका लागि आकाश र मयनको पहिलो विकेटका लागि ८६ रनको साझेदारी निर्णायक बन्यो। मयनले ६६ बलमा ६ चौका र १ छक्काको मद्दतले ५० रन बनाएर टिमलाई बलियो सुरुवात दिलाए। उनी १९औं ओभरमा क्याच आउट भए।
अर्जुन कुमालले २६ बलमा २१ रन बनाए। सन्तोष यादव ४ रनमा तेजसको बलमा बोल्ड भए। कर्नाटकका लागि प्रणव अश्वथले २ र तेजसले १ विकेट लिए।
त्यसअघि, पहिलो ब्याटिङमा निम्तो पाएको कर्नाटकले ५० ओभर खेल्दै १ सय ९१ रन बनायो। कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको थियो। कप्तान रोहितले सर्वाधिक ४१ रन बनाए भने इसा पुथिगेले नटआउट ३८ रनको योगदान दिए।
इनिङको सुरुवातमै नेपालका कप्तान हेमन्त धामीले दोस्रो बलमै गगन रावका ओपनिङ जोडी प्रतिकलाई बोल्ड गरे। ५औं ओभरमा ऋषभ हेमन्तकै एलबीडब्लु शिकार भए। गगन र शिवले त्यसपछि ४२ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे।
नेपालका लागि नरेन साउदले २ विकेट लिएर खेलमा महत्वपूर्ण ब्रेकथ्रु दिलाए। हेमन्तले ३ विकेट लिए भने अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले २-२ विकेट लिए।
यु–१९ एसिया कप मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुनेछ ।एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ ।
नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ