सुपर ओभरमा नेपालको सनसनीपूर्ण जित : एक खेल अघि नै सिरिज जित्यो

काठमाडौँ : अमेरिका र नेपालबिच टी–२० सिरिजको दोस्रो खेल रोमाञ्चक बराबरीपछि सुपर ओभरमा पुगेको खेल नेपालले जितेको छ।

सुपर ओभरमा ब्याटिङ गरेको अमेरिकाले दुवै विकेट गुमाएर जम्मा ३ रनको लक्ष्य दिएको थियो।

नेपालले ३ रनको लक्ष्य २ बल बाँकी रहँदै पूरा गर्यो। सुपर ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित पौडेलले २ रन र कुशल भुर्तेलले १ रन बनाए।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा जितका लागि १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन जोड्दै खेल बराबरी गरेको हो ।

यससँगै तीन खेलको सिरिजमा नेपालले २-० को अग्रता बनाउँदै सिरिज जितेको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

अमेरिकाका लागि एन्ड्रियस गोसले अविजित ६२ रन बनाए। उनले ४३ बलमा तीन चौका र चार छक्काको सहयागमा उक्त रन बनाएका हुन् ।

यस्तै सईतेजा मुक्कामल्लाले ४७, मिलिन्ड कुमारले १५ र सायन जहानगिरले १४ रन बनाए। बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले १ – १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ७ चौका र ६ छक्का हानेका थिए।

यस्तै ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाए। गुलशन झाले १२ बलमा १९ र कप्तान रोहित पौडेलले १४ बलमा १८ रन बनाए।

बलिङमा अमेरिकाकानोस्तुश केन्जिके र जसदिप सिंहले २ – २ विकेट लिए। सौरभ नेत्राभाल्करले १ विकेट झारे।

प्रकाशित : , ०, ००९:५८