अम्पायरको विवादस्पद निर्णयको बाबजुद सिरिजमा नेपालको सुखद् सुरुवात

काठमाडौँ : टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको छ।

जितका लागि एक सय ६५ रनको लक्ष्य पच्छ्याएको अमेरिकालाई नेपालले १४७ रनमा समेट्न सफल भएको हो।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित कुमार पौलेलले अविजित ४९ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ तथा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाए।

अमेरिकाका लागि शायन जहाङ्गिरले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। उनले ३४ बलमा २ छक्का र ६ चौकाको सहायतामा ६० रन जोडे। यससँगै नेपाल प्रिमियर लिगको फ्रेञ्चाइज पोखरा एभेन्जर्समा भर्खरै आबद्द भएका एन्ड्रिस गोसले ३० रन, मिलिन्द कुमारले २२ रन र जस्दीप सिंहले १६ रन बनाए।

बलिङमा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले दुई दुई विकेट लिए। नोस्तुश केन्जिके र अलि खानले एक एक विकेट झारे।

नेपालका थ्रीडी प्लेयर दिपेन्द्र सिंह ऐरी बलिङ, फिल्डिङ र ब्याटिङ तीनैमा चम्किए। उनले बलिङमा ३ ओभरमा २७ रन खर्चिंदै ३ विकेट लिए भने आरोन जोन्सलाई रन आउट पनि गराए।

करण केसीले ४ ओभरमा कसिलो बलिङ गर्दै १८ रन दिनुका साथै १ विकेट झारे। यससँगै रिजन ढकाल र गुलशन झाले समान १ – १ विकेट आफ्नो पोल्टामा पारे।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।

प्रकाशित : , ०, ००९:३५

नेपाललाई सिरिज जित्ने अवसर, मौकामा चौकामा हान्न सक्ला र नेपालले ?