अस्ट्रेलिया सिरिजमा नपरेपछि मोइन अलिले लिए क्रिकेटबाट सन्यास

एजेन्सी : इङ्गल्याण्डका अलराउन्डर मोइन अलिले सबै अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन् ।

३७ वर्षीय इङ्गल्याण्डका क्रिकेटर अलिले डेलीमेलसँगको कुराकानीमा यहीँ महिना हुन् लागेको अस्ट्रेलिया सिरिजमा आफू छनोट नभएपछि आफूले सन्यासको निर्णय लिएको बताए।

उनले भने – ‘मैले इङ्ल्यान्डका लागि धेरै क्रिकेट खेलेको छु। यो अर्को पुस्ताको लागि समय हो, जुन मलाई पनि बुझाइएको थियो। मलाई लाग्यो कि समय सही थियो। मैले आफ्नो भूमिका निर्वाह गरिसकेको छु।’

सन् २०१४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका मोइन अलिले अलराउन्डरको रूपमा  इङ्ल्यान्डका लागि ६८ टेस्ट, १३८ ओडिआई र ९२ टि-२० आई खेलेका छन्।

उनले इङ्ल्यान्डका लागि सबै फर्म्याटमा ६६७८ रन, आठ शतक, २८ अर्धशतक र ३६६ विकेट लिएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम पटक गुयानामा २०२४ को टि-२० विश्वकपमा सेमिफाइनलमा भारतसँग खेलेका थिए, जुन खेल इङ्ल्यान्ड ६८ रनले पराजित भएको थियो।

मोइन अलिले फ्रेन्चाइज क्रिकेट खेल्न जारी राख्नेछन् र भविष्यमा उनी कोचिङ्गमा संलग्न हुन् सक्ने सङ्केत पनि दिएका छन्।

मोइन हाल क्यारेबियनमा आफ्नो पहिलो सिपिएल सिजन खेल्ने तयारीमा छन्। डिफेन्डिङ च्याम्पियन गुयाना अमेजन वारियर्सका लागि उनी सब्स्टिच्युट खेलाडीको रुपमा अनुबन्धित भएका छन्।

पछिल्लो १२ महिनामा फ्रेन्चाइजी क्रिकेटको सन्दर्भमा  उनले आईपीएलमा चेन्नई सुपर किङ्गस, एसए२० मा जोबर्ग सुपर किङ्गस र बिपिएलमा कोमिल्ला भिक्टोरियन्सको प्रतिनिधित्व पनि गरेका छन्।

अलिले इङ्ल्याण्डले एसेज सिरिज र दुई विश्वकप जित्नु सबैभन्दा ठुलो उपलब्धी मान्छन्। तर व्यक्तिगत दृष्टिकोणबाट दक्षिण अफ्रिकाविरुद्ध ओभलमा लिएको टेस्ट ह्याट्रिकलाई उनी आफ्नो गौरवान्वित क्षण मान्छन्।

यससँगै उनी इङ्ल्याण्डको लागि टि२० मा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन्। उनले सन् २०२२ मा दक्षिण अफ्रिकाविरुद्द १६ बलमा ५० रन प्रहार गरेका थिए।

इङ्ल्याण्डले यहीँ सेप्टेम्बर ११ देखि सेप्टेम्बर २९ तारिखसम्म अस्ट्रेलियाविरुद्द ३ टि२० आई र ५ ओडिआई खेल खेल्नेछ।

प्रकाशित : , ०, ०१२:५५

क्यानडा र ओमानसँगको नेपालका खेल कहाँबाट हेर्न मिल्छ ? नेपालमा हुनेछ प्रत्यक्ष प्रशारण