एजेन्सी – शनिबार राति म्यानचेस्टर सिटीले प्रिमियर लिगको महत्वपूर्ण खेलमा लेस्टर सिटीको सामना गर्यो। सिजनको ३० औं खेलमा सिटीले घरेलु मैदानमा सिटीको सामना गरेको हो।
सिटीले बलमा राम्रो नियन्त्रण राख्दै लेस्टरलाई दबाबमा राख्न सफल भयो। सिटीले पहिलो हाफमा नै ३-० को अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा नर्वेली युवा स्टार एर्लिङ हालाण्डले दुई गोल गर्दा जोन स्टोन्सले गोल गरेका थिए।
हालाण्डले लेस्टर सिटी विरुद्ध खेलको १३ औं र २५ औं मिनेटमा गोल गर्न सफल भएका थिए। हालाण्डले २५ औं मिनेटमा गरेको गोल प्रिमियर लिगको जारी सिजनको ३२ औं गोल थियो।
सो गोलसंगै हालाण्ड एक रेकर्डसँग बराबरी गरेका छन्। प्रिमियर लिगको एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रेकर्डमा हालाण्डले बराबरी गर्न सफल भएका हुन्।
प्रिमियर लिगको एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रुपमा लिभरपुलका मोहम्मद सलाह रहेका छन्। अब सो रेकर्डमा हालाण्डले बराबरी गरेका छन्।
सिजनका ८ खेल बाँकी रहँदै हालाण्डले सो रेकर्डसँग बराबरी गरेका हुन्। अब हालाण्डले एक गोल गर्ने बितिकै सलाहको सो रेकर्ड तोडिनेछ र हालाण्ड प्रिमियर लिगको एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बन्नेछन्।
यसै सिजन सिटी आइपुगेका हालाण्डले २८ प्रिमियर लिग खेलेका छन्। यस बीचमा नै उनले ३२ गोल गरिसकेका छन् भने ५ असिस्ट दिसकेका छन्। हालाण्डले यस सिजन प्रिमियर लिगको गोल्डेन बुट जित्ने लगभग पक्का भैसकेको छ।