एजेन्सी – शनिबार राति पेरिस सेन्ट जर्मेन(पिएसजी)ले घरेलु मैदानमा सहज जित निकाल्यो। पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले लेन्स विरुद्ध सहज जित निकाल्न सफल भएको हो।
फ्रेन्च लिग वानको निकटतम प्रतिद्वन्दी लेन्स विरुद्ध पिएसजीले ३-१ को सहज जित निकालेको थियो। खेलभर बलमा पिएसजीले राम्रो नियन्त्रण राखेको थियो भने आक्रमणमा पनि राम्रो गरेको थियो।
खेलभर बलमा पिएसजीको ६३ प्रतिशत नियन्त्रण थियो। खेलभर पिएसजीको तर्फबाट १५ प्रहार भएका थिए। त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए भने तीन प्रहार गोलमा परिणत भए। पाहुना टोली लेन्सको तर्फबाट खेलभर १४ प्रहार भएका थिए। त्यसमध्ये ७ नै प्रहार टार्गेटमा थिए।
पिएसजीको जितमा किलियन एम्बाप्पे, भिटिन्हा र लियोनेल मेस्सीले गोल गरेका थिए। भिटिन्हा र एम्बाप्पेले गोलका अलावा एक-एक असिस्ट पनि दिएका थिए। एम्बाप्पेको गोलका लागि भिटिन्हाले पास दिएका थिए भने मेस्सीको गोलका लागि एम्बाप्पेले पास दिएका थिए।
एम्बाप्पेले बनाए रेकर्ड
लेन्स विरुद्ध गोल गरेसंगै एम्बाप्पेले एक नयाँ रेकर्ड बनाएका छन्। लेन्स विरुद्ध गोल गरेपछि एम्बाप्पे फ्रेन्च लिग वानको सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन्।
पिएसजीका पूर्व खेलाडी एडिन्सन काभानीलाई पछि पार्दै एम्बाप्पे लिग वानमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। लिग वानमा काभानीले १ सय ३८ गोल गरेका थिए। तर एम्बाप्पेले भने लिग वानमा १ सय ३९ गोल गरेका छन्। एम्बाप्पेले कुल १ सय ६९ खेलमा यो संख्यामा गोल गरेका हुन्।
मेस्सीले गरे रोनाल्डोसँग बराबरी
लेन्स विरुद्धको खेलको ४० औं मिनेटमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल गरेका थिए। उनले एम्बाप्पेको पासमा गोल गर्न सफल भएका हुन्। सो गोल यो सिजनका लागि मेस्सीको २० औं गोल थियो।
फ्रेन्च लिग वानमा मात्रै मेस्सीको गोल संख्या १५ पुगेको छ। यस सिजन २६ खेलमा उनले १५ गोल गर्दै १४ असिस्ट दिएका हुन्। गत सिजन उनले फ्रेन्च लिग वानम मात्रै ६ गोल गरेका थिए।
यससंगै लिग वानमा उको गोल संख्या २१ पुगेको छ। पिएसजी आउनु भन्दा अगाडी मेस्सी बार्सिलोनामा थिए। त्यहाँको लालिगामा मेस्सीले ४ सय ७४ गोल गर्न सफल भएका थिए।
दुई लिगमा गरेर मेस्सीको गोल संख्या ४ सय ९५ पुगेको छ। यससंगै मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गरेका छन्। युरोपका शिर्ष पाँच लिगमा गोल गर्ने खेलाडीको रेकर्डमा मेस्सीले बराबरी गरेका हुन्। रोनाल्डोले प्रिमियर लिग, लालिगा र सिरी ‘ए’ गरी तीन लिगमा कुल ४ सय ९५ गरेका थिए।