एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्त लिग वानमा सहज जित हात पारेको छ ।
शीर्षस्थानमा रहेको पिएजिीले दोस्रो स्थानमा रहेको लेन्समाथि ३–१ को सहज जित हात पार्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा लिगका शीर्ष दुईबीचको महत्वपूर्ण खेलमा मिडफिल्डर सालिस अब्दुल समेद १९औ मिनेटमा नै सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिन पुगेको थियो । त्यसको फाइदा पिएसजीले उठाउन सफल भयो ।
३१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले भिटिन्हाको पासमा गोल गर्न सफल भए ।यस गोलसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन् ।
३७औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।
६०औं मिनेटमा प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।
यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।