रोनाल्डोको रेकर्ड तोड्ने ढोकामा मेस्सी, आजै हुन सक्छ चमत्कार !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति महत्वपूर्ण खेलमा लेन्सको सामना गर्दैछ। फ्रेन्च लिग वानको ३१ औं खेलमा लिग लिडर पिएसजीले लेन्सको सामना गर्न लागेको हो।

पिएसजी यति बेला फ्रेन्च लिग वानको शिर्ष स्थानमा रहेको छ। लिगका ३० खेल खेल्दा पिएसजीले २२ खेलमा जित निकालेको छ भने ५ खेलमा हार बेहोरेको छ। पिएसजीको फेन्च लिग वानमा ६९ अंक छ।

लेन्स भने फ्रेन्च लिग वानको दोस्रो स्थानमा रहेको छ। लेन्सले पनि पिएसजी जस्तै समान ३० खेल खेलेको छ। लेन्सले अहिले सम्म १८ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। लेन्सको ६३ अंक छ। पिएसजी र लेन्स बीच मात्र ६ अंकको अन्तर छ।

मेस्सीलाई सूवर्ण अवसर

लेन्स विरुद्ध पिएसजी एक्सनमा उत्रँदा मेस्सी पनि पिएसजीको टोलीमा हुन सक्छन्। लेन्स विरुद्ध खेल्दा मेस्सीसँग एक रेकर्ड तोड्ने अवसर हुनेछ। लेन्स विरुद्ध कम्तीमा २ गोल गर्न सकेको खण्डमा मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको एक रेकर्ड तोड्न सक्नेछन्।

लेन्स विरुद्ध २ गोल गर्न सके मेस्सी युरोपक शिर्ष पाँच लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बन्नेछन्। युरोपका शिर्ष पाँच लिगमा प्रिमियर लिग, लालिगा, बुन्डेसलिगा, सिरी ‘ए’ र फ्रेन्च लिग वान रहेका छन्।

युरोपक शिर्ष पाँच मध्ये ३ लिगमा रोनाल्डोले गोल गरेका छन्। रोनाल्डोले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, लालिगामा रियल म्याड्रिड र सिरी ‘ए’मा युभेन्टसबाट फुटबल खेलेका छन्।

रोनाल्डोले प्रिमियर लिगमा १ सय ३ गोल, लालिगामा ३ सय ११ र सिरी ‘ए’मा ८१ गोल गरेका थिए। तीन लिगमा रोनाल्डोले कुल ४ सय ९५ गोल गरेका छन्।

यस्तै मेस्सीले भने आफ्नो करियरमा लालिगा र फ्रेन्च लिग वानबाट मात्र फुटबल खेलेका छन्। मेस्सीले लालिगामा बार्सिलोनाबाट खेल्दा ४ सय ७४ गोल गरेका थिए। फ्रेन्च लिग वानमा भने मेस्सीले मात्र २० गोल गरेका छन्।

दुवै जोड्दा ४ सय ९४ हुन्छ। लेन्स विरुद्ध एक गोल गरे युरोपका शिर्ष ५ लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रेकर्डमा मेस्सीले रोनाल्डोसँग बराबरी गर्नेछन् भने २ गोल गरेको खण्डमा सो रेकर्ड तोड्नेछन्।

प्रकाशित : , ०, ०१२:३२

मेस्सी र एम्बाप्पे दुवै चम्किँदा पिएसजीको जित, एम्बाप्पेको रेकर्ड !