एजेन्सी – रियल म्याड्रिडका आक्रमणकारी विङ्गर भिनिसियस जुनियरले सधैं रियल म्याड्रिडमा बस्ने आफ्नो चाहना रहेको बताएका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सीलाई पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भिनिसियस सधैंका लागि आफू रियलमा बस्न चाहेको बताएका हुन्।
बुधबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियलले प्रिमियर लिग क्लब चेल्सीलाई पराजित गर्यो। रियलले आफ्नो घरेलु मैदान सान्टियागो बर्नबेउमा चेल्सीलाई २-० को गोल अन्तरले पराजित गर्न सफल भएको हो।
रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरेका थिए। ती दुवै गोलका लागि पास भने भिनिसियसले दिएका थिए। दुई असिस्ट दिएका उनी नै चेल्सी विरुद्धको खेलमा प्लेयर अफ द म्याच घोषित पनि भए।
उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले रियल म्याड्रिड विश्वको उत्कृष्ट क्लब रहेको बताए। त्यसक्रममा उनले आफू सधैंभरिका लागि रियलमा बस्न चाहेको पनि बताउन छुटाएनन्।
“म यहाँ सधैंभरि बस्न चाहन्छु। रियल म्याड्रिड विश्वको उत्कृष्ट क्लब हो। म यहाँ सधैंभरि बस्न हस्ताक्षर गर्ने आशा गर्छु।”,भिनिसियसले खेलपछि एक अन्तर्वार्ताका क्रममा भने।
भिनिसियस यस सिजन उच्च लयमा छन्। उनले यस सिजन रियल म्याड्रिडका लागि ४५ खेलमा २१ गोल गरिसकेका छन् भने १६ असिस्ट दिसकेका छन्। च्याम्पियन्स लिगमा उनले ६ गोल गरेका छन्।