एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई फिर्ता ल्याउन बार्सिलोनालाई आग्रह गरेका छन्। एक पत्रकार सम्मेलनका क्रममा कोम्यानले मेस्सीलाई फिर्ता ल्याउन आफ्नो पूर्व क्लबलाई आग्रह गरेका हुन्।
एक पत्रकार सम्मेलनका क्रममा कोम्यानलाई मेस्सीको बार्सिलोना फिर्तिको सम्बन्धमा प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा कोम्यानले बार्सिलोना मेस्सीको घर रहेको र मेस्सी आफ्नो घरमा हुनुपर्ने बताए।
मेस्सीलाई क्लबमा राख्न नसक्नु बार्सिलोना बोर्डको कमजोरी रहेको पनि कोम्यानले बताउन छुटाएनन्। जे जसो भएपनि मेस्सी बार्सिलोना नै फिर्ता हुनुपर्ने कोम्यानको भनाई छ।
“बार्सा मेस्सीको घर हो र उनी आफ्नो घरमा नै हुनुपर्छ। बोर्डले उनलाई क्लबमा राख्न नसक्नु पक्कै पनि राम्रो कुरा होइन। मलाई थाहा छैन लियो के सोच्छन् र ती मुद्दाहरु बारे मेस्सीलाई थाहा थियो कि थिएन। बार्सिलोनालाई समस्या थियो भन्ने मलाई त थाहा थियो। यो लाजमर्दो थियो कि मेस्सीले छाड्न पर्ने अवस्था बन्यो। तर अब उनी यहाँ हुनुपर्छ।”,कोम्यानले भने।
त्यसक्रममा कोम्यानले मेस्सी विश्वको सबै भन्दा उत्कृष्ट खेलाडी रहेको बताउन पनि छुटाएनन्। मेस्सी हुने टोली जहिले पनि बलियो हुने कोम्यानले बताए। मेस्सीको बहिर्गमनलाई आफूले धेरै नजिकबाट देखेको कोम्यानको भनाई छ।
कोम्यानले भने,”मेस्सी विश्वका उत्कृष्ट खेलाडी हुन्। जुन क्लबले उनलाई पाउँछ, त्यो बलियो हुन्छ। मेस्सी बार्सिलोनाबाट बाहिरिँदा मैले नजिकबाट नियालेको छु। त्यो दिन एकदमै नराम्रो थियो। बार्सिलोना भन्दा अर्को क्लबको जर्सी लगाएको देख्दा म छक्क परेको थिएँ।”