एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखमाथि सहज जित हात पारेको छ ।
सिटीले घरेलु मैदानमा जर्मन प्रतिद्धन्द्धीमाथि ३–० को सहज जित हात पारेको हो । सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलको २७औं मिनेटमा रोड्रीको गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले सिल्भाको पासमा गोल गर्न सफल भएका थिए ।
७०औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । सिल्भाले यसपटक हालान्डको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गराए । उनले जोन स्टोनको पासलाई सदुपयोग गरे ।
यस जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटी सेमिफाइनलमा पुग्नेछ । बायर्नलाई सेमिफाइनलमा पुग्न दोस्रो लेगमा कम्तीमा ४–० को जित आवश्यक छ । दोस्रो लेग बायर्नको मैदानमा २० अप्रिलमा हुनेछ ।