एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमा र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बीच पुनर्मिलन नहुने भएको छ। बेन्जेमाले साउदी क्लब अल नासरको प्रस्ताव अस्विकार गरेसँगै दुई बीच तत्काल पुनर्मिलन नहुने भएको हो।
रियल म्याड्रिडका सुपरस्टार करिम बेन्जेमाले क्रिस्टियानो रोनाल्डोसँग साउदी अरबमा जाने प्रस्ताव अस्वीकार गरेको म्याड्रिडबाट प्रकाशित हुने स्पेनिस पत्रिका मार्काले जनाएको छ।
बेन्जेमा र रियल म्याड्रिड बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। तर सम्झौता थपका विषयमा दुई पक्षबीच कुनै पनि ठोस सहमति हुनसकिरहेको छैन। रियलबाट आएको प्रस्तावमा बेन्जेमा सहमत हुन नसक्दा सम्झौता थप हुन नसकेको हो।
रियलले बेन्जेमालाई अहिले पाउँदै आएको भन्दा धेरै कम पारिश्रमिक अफर गरेको बताइएको छ। मार्काले रिपोर्ट गरेअनुसार आकर्षक प्रस्ताव सहित साउदी अरब जाने मौका पाएका थिए। तर सो अवसरलाई बेन्जेमाले रिजेक्ट गरिसकेका छन्।
बेन्जेमाले केहि समय युरोपमै रहेर उच्च स्तरमा फुटबल खेल्न चाहेको बताइन्छ। गएको केहि सिजन देखि उच्च लयमा रहेका बेन्जेमा जारी सिजनमा केहि बढी घाइते भएका छन्। तर पनि उनले गोल गर्न भने छाडेका छैनन्।
बेन्जेमाले रियलका लागि यस सिजन ३२ खेलमा २५ गोल गरेका छन् भने ६ असिस्ट दिएका छन्। बेन्जेमा रोनाल्डोपछि रियल म्याड्रिडका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले स्पेनिस क्लबका लागि हालसम्म ६३७ खेलमा ३४८ गोल गरेका छन् । रोनाल्डोले २०१८ मा युभेन्टस जानुअघि ४३८ खेलमा ४५० गोल गरेका थिए ।