एजेन्सी – आर्सनल यति बेला लामो समय पछिकै उच्च लयमा छ। गत सिजन देखि सुरु भएको राम्रो लयले आर्सनललाई यति बेला प्रिमियर लिगको शिर्ष स्थानमा स्थापित गराएको छ।
प्रिमियर लिगको जारी सिजनमा धेरै जस्तो समय शिर्ष स्थानमा आर्सनल नै छ। केहि समय मात्रै आर्सनल शिर्ष स्थानबाट हटेको अवस्था छ। प्रिमियर लिगका केहि खेलहरु मात्र बाँकी रहेको अवस्थामा पनि आर्सनलले आफ्नो अग्रतालाई कायमै राखेको छ।
आर्सनलले अब प्रिमियर लिगमा मातै ९ खेल खेल्न बाँकी छ र त्यसमध्येको सबै भन्दा महत्वपूर्ण खेलमा आज गनर्सले लिभरपुलको सामना गर्नेछ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा आर्सनल र लिभरपुल आमने-सामने हुन लागेका हुन्।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनल ३-२ को गोल अन्तरले विजयी भएको थियो। प्रिमियर लिग च्याम्पियन्स बन्नु अगाडी पक्कै पनि आर्सनल आज राति एनफिल्ड कब्जा गर्ने दाउमा हुनेछ।
लिभरपुलको घरेलु मैदानमा आर्सनलले लामो समय देखि जित निकाल्न सकेको छैन। एनफिल्डमा आर्सनलले पछिल्लो पटक सन् २०१२ मा लिभरपुल विरुद्ध जित निकालेको थियो।
सन् २०१२ मा आर्सनलले लुकास पोडोल्स्की र सान्टी काजोर्लाको गोलमा लिभरपुललाई एनफिल्डमा २-० को गोल अन्तरले पराजित गरेको थियो। त्यसबेला क्लबका वर्तमान प्रशिक्षक मिकेल अर्टेटा सो टोलीमा थिए।
तर उनी खेल जीवन सकाएर प्रशिक्षकको रुपमा आर्सनलमा काम गरिरहेका छन्। त्यसपछि अहिले सम्म कहिले पनि आर्सनलले एनफिल्डमा जित निकालेको छैन। सो खराब जित खडेरीलाई तोडेर अगाडी बढ्ने योजना सहित आर्सनलले एनफिल्डको भ्रमण गर्नेछ।