एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीलाई भित्र्याउन चाहने क्लबहरुले उच्च मूल्य तिर्नुपर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार फातीका भित्र्याउन चाहने क्लबले उच्च मूल्य तिर्नुपर्ने भएको हो।
फातीलाई बार्सिलोनाले आउने समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने चर्चा चलिरहेको छ। गत समर ट्रान्सफर विन्डो देखि बार्सिलोनाले फातीलाई बिक्री गर्न खोजिरहेको खेल मिडियाहरु बताउँछन्।
गत समर ट्रान्सफर विन्डोमा फातीका लागि उचित प्रस्ताव आएको थिएन। तर अहिले भने उनलाई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर सिटी जस्ता क्लबहरुले भित्र्याउन चाहेका छन्।
फातीका लागि अब चेल्सी र सिटी जस्ता क्लबले उच्च मूल्य तिर्न पर्ने भएको छ। फातीलाई भित्र्याउन चाहने क्लबले अब ९० मिलियन पाउण्ड ट्रान्सफर रकम तिर्नपर्ने भएको फुटबल इनसाइडरले जनाएको छ।
सन् २०१७ मा बार्सिलोनाका लागि सिनियर डेब्यू गरेयता उनले कुल ९७ खेल खेलेका छन्। यस बीच मा उनले २६ गोल गरेका छन् भने ९ असिस्ट दिएका छन्।
सिनियर टोलीका लागि डेब्यू गरेपछि भने उनलाई शरीरले त्यति साथ दिएको छैन। पछिल्ला दुई सिजन फाती कयौं पटक घाइते भएका थिए। यस सिजन भने उनी पछिल्ला सिजनहरु भन्दा बढी फिट देखिएका छन्।
तर पनि उनी बार्सिलोनामा निरन्तर खेल्ने अवसर पाउन सकिरहेका छैनन्। यस सिजन उनी बार्सिलोनाका लागि सुरुवाती अवस्थामा भन्दा पनि बेन्चबाट मैदान प्रवेश गरिरहेका छन्।