एजेन्सी – केहि खेलमा कम्जोर प्रदर्शन लगत्तै गत सेप्टेम्बरमा प्रिमियर लिग क्लब चेल्सीले तत्कालिन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गर्यो। चेल्सीलाई च्याम्पियन्स लिग दिलाएका प्रशिक्षकलाई थोरै भएपनि मौका दिने चेस्टा चेल्सीले गरेन।
टुचेललाई बर्स्खास्त गर्ने बित्तिकै क्लबको जिम्मेवारी सम्हाल्न ग्राहम पोटर आइपुगे। प्रिमियर लिग क्लब ब्राइटनलाई बलियो बनाएका पोटरलाई चेल्सीले धेरै आशा राखेर प्रशिक्षक बनाएको थियो।
तर चेल्सीको खुशी केहि समय भन्दा बढी टिक्न सकेन। उनी आएको केहि खेलमा चेल्सीले राम्रो नतिजा निकाल्न सकेपनि केहि खेलपछि भने चेल्सीको ओरालो यात्रा पुनः सुरु भयो। च्याम्पियन्स लिगमा ठिक-ठाक प्रदर्शन गर्दै क्वाटरफाइनल सम्म पुगेपनि चेल्सीले प्रिमियर लिगमा भने त्यति राम्रो गर्न सकेन।
पोटरले क्लबको जिम्मेवारी सम्हाल्नेपछि चेल्सीले कुल ३१ खेल खेल्यो। त्यसमध्ये १२ खेलमा मात्रै चेल्सीले जित निकाल्न सक्यो। ११ खेलमा हार बेहोर्दा चेल्सीले ८ खेलमा बराबरी खेल्यो। यससँगै पोटर २१ औं शताब्दीकै सबै भन्दा कम जीत दर भएका चेल्सी प्रशिक्षक बनेका छन्।
को बन्ला चेल्सीको प्रशिक्षक ?
चेल्सीले पोटरलाई बर्खास्त गरेसँगै सबैको ध्यान अब चेल्सीको जिम्मेवारी कसले सम्हाल्ला भन्नेमा गएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार चेल्सीले युवा प्रशिक्षक जुलियन नागेल्सम्यानलाई प्राथमिकतामा राखेको छ।
चेल्सीले नागेल्सम्यानलाई प्रशिक्षकको जिम्मेवारी दिन चाहेको खबरलाई ट्रान्सफर मार्केटक राम्रा जानकार फब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। एन्टोनियो कोन्टेलाई बर्खास्त गरेपछि नागेल्सम्यान टोटेनहमको पनि नजरमा रहेका छन्।
तर पोटरलाई बर्खास्त गरेसँगै टोटेनहमको तनाव बढेको छ। किनकि नागेल्सम्यानले टोटेनहम भन्दा पनि चेल्सी रोज्ने बढी सम्भावना रहेको छ। नागेल्सम्यानलाई केहि समय अगाडी मात्रै जर्मन क्लब बायर्न म्युनिखले बर्खास्त गरेको थियो। उनको स्थानमा बायर्नको जिम्मेवारी चेल्सीक पूर्व प्रशिक्षक टुचेलले सम्हालिरहेका छन्।