एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा भिल्लासँग २–० ले पराजित भएको हो ।
भिल्लाको जितमा ओली वाट्किन्स र जोन म्याकजिनले गोल गरे । भिल्लाले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्न सफल भएको थियो ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १८औं मिनेटमा अोली वाट्किन्सको गोलबाट भिल्लाले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको थियो ।
त्यसपछि ५६औं मिनेटमा जोन म्याकजिनले ज्याकोव राम्सेको पासमा गोल गर्दै चेल्सीलाई २–० को हार चखाए । घरेलु मैदानमा चेल्सीले ६९ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्न पुग्दा नतिजा नै पाहुना टोलीलाई सुम्पन पुग्यो ।
यस जितसँगै भिल्ला २८ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिन सफल हुँदा पराजित चेल्सी ३८ अंक जोडेर ११औं स्थानमा झरेको छ ।