लिभरपुलको नजरमा युनाइटेडको तेस्रो स्थान, उछिनेर तेस्रो हुने योजना !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका लागि सन् २०२२-२३ को सिजन त्यति राम्रो हुन सकिरहेको छैन। गत सिजन अन्त्य सम्म पनि सम्पूर्ण उपाधिका लागि प्रतिष्पर्धा गरेको लिभरपुल यस सिजन भने उपाधि बिहिन हुने लगभग निश्चित जस्तै छ।

सिजन सुरु भएदेखि खेलाडी घाइते हुने समस्याका कारण धरापमा परेको लिभरपुलका लागि आउने समय भने उत्साहप्रद हुने संकेत मिलेको छ। घाइते रहेका केहि खेलाडीहरु फर्किसकेका छन् भने केहि खेलाडी फर्किने क्रममा छन्।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई लज्जास्पद हार चखाएसँगै लिभरपुलले लयमा फर्किने संकेत देखाएको छ। आइतबार राति मात्रै लिभरपुलले युनाइटेड माथि ७-० को सानदार जित निकालेको थियो।

लिभरपुलका लागि सो जित अत्यावश्यक थियो। प्रिमियर लिगको शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुन लिभरपुलले जसरी पनि सो जित निकाल्नुपर्थ्यो। सो जितसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ।

लिभरपुलले २५ खेलमा १२ जित र ७ हार सहित ४२ अंक जोडेको छ। लिभरपुल चौथो स्थानमा रहेको टोटेनह्याम भन्दा ३ अंकले मात्रै पछाडी छ। लिभरपुलसँग एक खेल कम खेलेको लाभ छ।

प्रिमियर लिगका पछिल्ला खेलमा लिभरपुलले एक गोल पनि बेहोरेको छैन। फुटबल विश्लेषकहरु यसलाई विशेष संकेतको रुपमा लिन्छन्। लिभरपुलले अब उच्च लयमा खेल्ने संकेत गरिरहेको फुटबल विश्लेषकहरुको भनाई छ।

एकपटक पुनः लिभरपुलको डिफेन्स राम्रो देखिँदैछ। डिफेन्स बलियो हुँदा पक्कै पनि लिभरपुलले खुलेर आक्रमण गर्न सक्छ। त्यस्तो अवस्थामा पक्कै पनि लिभरपुलले निरन्तर जित निकाल्न सक्छ।

लिभरपुलको आक्रमण पङ्ती पनि धेरै राम्रो देखिँदैछ। यसै सिजन लिभरपुल आएका डार्विन नुनेज र कोडी गाक्पो लिभरपुलको टोलीमा सेट हुँदा त्यसको प्रत्क्षय प्रभाव प्रदर्शनमा पर्ने छ। त्यस्तै डिएगो जोटा पनि चोटबाट फिर्ता भइसकेका छन्। उनको फिर्तीले पनि लिभरपुलको उत्साह बढाएको छ।

लिभरपुलको शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावनालाई न्यूक्यासल युनाइटेड र टोटेनह्याम चुनौती बन्न सक्छन्। टोटेनह्याम चौथो स्थानमा रहँदा न्यूक्यासल छैठौं स्थानमा रहेको छ। लिभरपुल भन्दा एक कम खेल खेलेको न्यूक्यासल मात्रै एक अंकले पछाडी छ।

अंक गणितीय आधारमा लिभरपुलले बढीमा तेस्रो स्थान सम्मको लक्ष्य राख्न सक्छ। तेस्रो स्थानको युनाइटेड लिभरपुल भन्दा मात्र ७ अंकले अगाडी छ। आउने केहि खेलमा युनाइटेडले अंक गुमाएको खण्डमा लिभरपुल तेस्रो स्थान सम्म पुग्न सक्छ। तर त्यसको लागि लिभरपुलले हरेक खेलमा जित निकाल्नुपर्नेछ। जे होस्, लिभरपुलले सिजनका बाँकि १३ खेलमा कस्तो प्रदर्शन गर्छ र च्याम्पियन्स लिगका लागि छनौट हुन्छ-हुँदैन हेर्न रोचक हुनेछ।

प्रकाशित : , ०, ०१८:४३

“एम्बाप्पे मेस्सी र रोनाल्डो दुवैका उत्तराधिकारी हुन्”