एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई ठूलो राहत मिलेको छ। एथलेटिक बिल्बाओसँगको ला लिगा भिडन्त अगाडी बार्सिलोनालाई ठूलो राहत मिलेको हो।
क्याटलान क्लबका तीन खेलाडी सो खेलका लागि फिर्ता हुने पक्का भएको स्पेनिस मिडियाहरुले जनाएका छन्। सो खेलका लागि पछिल्ला खेल गुमाएका रोबर्ट लेवान्डोस्की, फ्रेन्की डे जोङ र एन्ड्रियास क्रिस्टेनसेन फिर्ता हुन तयार रहेको बताइएको छ।
ह्यामस्ट्रिङको समस्याका कारण लेवान्डोस्कीले लालिगा अन्तर्गत भ्यालेन्सिया र कोपा डेल रे अन्तर्गत रियल म्याड्रिड विरुद्धको खेल गुमाएका थिए। तर अब उनी एथलेटिक बिल्बाओ विरुद्धको खेलका लागि उपलब्ध हुनेछन्।
त्यस्तै फ्रेन्की डे जोङ र एन्ड्रियास क्रिस्टेनसेन पनि एथलेटिक बिल्बाओ विरुद्धको खेलका लागि उपलब्ध हुनेछन्। ह्यामस्ट्रिङको समस्याका कारण आइतवार भ्यालेन्सिया विरुद्धको खेलको बीचमा खेल मैदानबाट बाहिर निकालिएको थियो।
त्यस्तै एन्ड्रियास क्रिस्टेनसेन पनि सोहि खेलका क्रममा घाइते भएका थिए। उनको पनि खुट्टामा समस्या देखिएको थियो। दुवै खेलाडी लालिगाको आउने खेलमा सहभागी हुन सक्नेछन्।
एथलेटिक बिल्बाओ विरुद्धको खेलका लागि पाब्लो गाभि पनि उपलब्ध हुनेछन्। उनी निलम्बनको कारण पछिल्लो खेलमा सहभागी हुन पाएका थिएनन्। तर अब भने उनी मैदान फिर्ता हुन पाउनेछन्।
तर प्रशिक्षक जाभी हर्नान्डेजका लागि रोनाल्ड अराउजो र ओस्मान डेम्बेलेको अनुपस्थिति भने टाउको दुखाई बन्न सक्छ। अराउजो पछिल्लो खेलमा रेड कार्ड पाएका कारण आउने खेलमा सहभागी हुन पाउने छैनन्।
डेम्बेले भने गएको केहि समय देखि मांसपेशीको चोटबाट निको हुने क्रममा रहेका छन्। आइतवार सान मामेसमा हुने खेलको लागि पेड्रिको उपलब्धतामा अझै अनिश्चितता छ। गत महिना म्यानचेस्टर युनाइटेड विरुद्ध युरोपा लिग प्लेअफको पहिलो लेगमा मिडफिल्डरको दाहिने तिघ्राको समस्या देखिएको थियो।