एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले यो सिजनको बाँकी खेल गुमाउने भएका छन् । खुट्टाको चोटमा शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ । १९ फेब्रुअरीमा पिएसजीको घरेलु टोली लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेयमारले दाहिने खुट्टामा चोट बोकेका थिए ।
चोटका कारण यो सिजन नै गुमाउने भएपछि नेयमारले सामाजिक सन्जालमा आँफु झन बलियो बनेर आउने बताएका छन् । ३१ वर्षीय नेयमारले पछिल्लो ६ वर्षयता लगातार दायाँ खुट्टामा चोट बोक्दै आइरहेको छ । अब पुन सोही दायाँ खुट्टाको शल्यक्रिया हुँदैछ । क्लबले उनको खुट्टाको शल्यक्रिया आवश्यक रहेको उनी पूर्ण रुपमा फिट हुन कम्तीमा तीन देखि ४ महिना लाग्ने बताएको छ । त्यस बेलासम्म यो सिजनको खेलहरु सकिनेछ ।
नेयमारलाई पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लागतार चोट बोकिरहेको छ । सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए । बार्सिलोनाका पूर्व फरवार्ड नेयमारले दायाँ खुट्टाकै लिगमेन्ट च्यातिएका कारण सन् २०१९ को कोपा अमेरिका कपसँगै सन् २०२१ मा पनि सोही खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । नेयमारले यस सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल र १० असिस्ट प्रदान गरेका छन् ।
क्रिस्टोफ गाल्टिएरको टोली फ्रेन्च लिग वानमा ८ अंकको अग्रता लिदै तालिकाको शीर्ष स्थानमा छ । पिएसजीको २६ खेलबाट ६३ अंक छ । समान खेलबाटै मार्सेको ५५ अंक छ । पिएसजी ११औंपटक फ्रेन्च लिग वानको उपाधि जित्न चहान्छ । पिएसजीले बुधबार राति च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । पहिलो लेगमा पिएसजी १–० ले पछि छ । पिएसजीको सिजनको अन्तिम लिग खेल ३ जुनमा क्लेरमन्टसँग हुनेछ । च्याम्पियन्स लिगको फाइनल १० जुनमा हुनेछ ।