१० खेलाडीमा समेटिएर पनि बार्सिलोनाले निकाल्यो जित, लालिगा उपाधि तर्फ बढ्यो अगाडी !

एजेन्सी – ब्राजिली मिडफिल्डर राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो ।

स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५औं मिनेटमा राफिन्हाले गोल गर्न सफल भएका थिए । उनले कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो । फ्रान्क केसीको क्रसमा आन्द्रेस क्रिस्टेन्सेनले गरेको प्रहारलाई ह्युगो गुइलामोनले हातले रोकेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, टोरेसले गोल गर्न सकेनन् ।

५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर, त्यसको फाइदा भ्यालेन्सियाले उठाउन सकेन । बार्सिलोनाले भने आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ९ अंकले पछि पारेको छ । रियलको ५३ अंक छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।

प्रकाशित : , ०, ००८:२२

फेरी रोकियो रियल, बार्सिलोना मालामाल !