सिटीका लागि केराको बोक्रा बन्यो फरेस्ट: उपाधि दौडमा झ्याप्पै चिप्लियो, लिभरपुल भने विजयी !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पार्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । लिभरपुलले १० खेलाडीमा समेटिएको घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले गोल गरे । सेन्ट जेम्स पार्क न्यूक्यासलमा शनिबार राति भएको खेलको १०औं मिनेटमा डार्विन नुनेजको गोलबाट अग्रता लिएको थियो । उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएको थियो ।

१७औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । २२औं मिनेटमा न्यूक्यासल १० खेलाडीमा समेटिन पुग्यो ।

पेनाल्टी बक्स बाहिर मोहम्मद सलाहलाई फउल गरेपछि रेफ्रीले गोलरक्षक निक पोपेले सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर, त्यसपछि न्यूक्यासल १० खेलाडीमा समेटिएको फाइदा लिभरपुलले उठाउन सकेन ।

यस जितसँगै लिभरपुल २२ खेलबाट ३५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्यूक्यासल २३ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा छ ।

अर्काे खेलमा सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा म्यानचेस्टर सिटी नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । सिटीका बर्नाडो सिल्भाले गोल गर्दा नटिङहमका क्रिस वुडले बराबरी गोल फर्काए ।

दि सिटी ग्राउन्डमा शनिबार राति भएको खेलको ४१औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए । तर, सिटीले त्याे अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा क्रिस वुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै सिटीले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । नटिङहमलाई पराजित गर्न सकेको भए सिटीले आर्सनलसँग अंक बराबरी गर्दै गोल अन्तरमा शीर्षस्थानमा उक्लने थियो ।

यस बराबरीसँगै सिटीको २४ खेलबाट ५२ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५४ अंक छ । नटिङहम २५ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित : , ०, ००९:४२

बार्यन म्युनिखसँग हावा खाएपछि मेस्सीले खेल्न सक्लान् आजको खेल ?