पैसाको खोला बगाउँदा पनि चेल्सीको यो हाल, पोटर आउट ?

एजेन्सी – प्रिमियर लिगको सुरुवात देखि कम्जोर प्रदर्शन गरिरहेको चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा खुलेर खर्च गर्यो। विश्वकपमा चम्किएका देखि युरोपका धेरै क्लबले पिछा गरिरहेका खेलाडीहरुलाई चेल्सीले भित्र्यायो।

जनवरी ट्रान्सफर विन्डोमा चेल्सीले आठ नयाँ खेलाडी भित्र्याएको थियो। जसका लागि चेल्सीले ३ सय २३ मिलियन पाउण्ड खर्च गर्यो। बेलायती फुटबल इतिहासको सबैभन्दा महँगो खेलाडीको रूपमा चेल्सीले एन्जो फर्नान्डेजलाई समेत भित्र्यायो।

राम्रा भन्दा राम्रा खेलाडी भित्र्याएर पनि चेल्सीले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। शनिबार राति प्रिमियर लिगमा चेल्सीले नमिठो हार बेहोर्यो। रेलिगेसन जोनमा रहेको साउथह्याम्प्टनसँग चेल्सी पराजित भएको हो।

लिगको पुछारमा रहेको साउथह्याम्प्टनसँग चेल्सी घरेली मैदानमै पराजित हुन पुगेको हो। बलमा राम्रो नियन्त्रण राखेर पनि एक गोल गर्न नसक्दा चेल्सी हार्न पुगेको हो। खेलभर बलमा ६१ प्रतिशत नियन्त्रण राखेर १७ प्रहार गरेको चेल्सीले एक गोल पनि गर्न सकेन।

यस हारसँगै चेल्सीका प्रशिक्षक ग्राहक पोटरको जागिर थप धरापमा परेको छ। गत सेम्प्तेम्बरमा चेल्सी आइपुगेका उनी चेल्सीलाई राम्रो नतिजा दिलाउन संघर्ष गरिरहेका छन्।

नयाँ खेलाडीको आगमन पछि पनि चेल्सीले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। जनवरी ट्रान्सफर विन्डो बन्द भएपछि फेब्रुअरीमा चेल्सीले एक खेलमा पनि जित निकाल्न सकेको छैन।

चेल्सी प्रिमियर लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि पराजित भएको थियो। खेलाडी भित्र्याउन जनवरीमै ३ सय मिलियन भन्दा बढी खर्च गरेपनि राम्रो नतिजा निकाल्न नसक्दा पोटर छिट्टै बर्खास्त हुन सक्ने चर्चा सुरु भएको छ।

प्रकाशित : , ०, ००६:३४

सिटीका लागि केराको बोक्रा बन्यो फरेस्ट: उपाधि दौडमा झ्याप्पै चिप्लियो, लिभरपुल भने विजयी !