एजेन्सी – बार्सिलोनाका ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले बार्सिलोनाका पूर्व सहकर्मी लियोनेल मेस्सीको विश्वकप सफलतालाई लिएर आफू खुसी रहेको बताएका छन्। एक कुराकानीका क्रममा रोनाल्डिन्होले मेस्सी विश्व विजेता बनेकोमा आफूलाई धेरै खुसी लागेको बताएका हुन्।
मुन्डो डेपोर्टिभो गालामा बोल्नेक्रममा रोनाल्डिन्होले मेस्सीलाई कसैले पनि बार्सिलोना बाहिर कल्पना नगरेपनि अहिले बार्सिलोना बाहिर राम्रो गरिरहेको बताए। मेस्सीले फुटबल खेल्न जारी राख्नुपर्छ भन्ने रोनाल्डिन्हो मान्छन्।
“मेस्सीको विश्वकप सफलतालाई लिएर म खुसी छु। उनले त्यो मिस गरिरहेका थिए। तर अहिले त्यो पनि पूरा भएको छ। सत्य यो हो कि बार्सिलोना बाहिर कसैले उनको कल्पना गरेका थिएनन्, तर फुटबलमा कसैले नसोचेको चीजहरु हुन्छन्। अब उनले खेल्न जारी राख्नुपर्छ।”,रोनाल्डिन्होले भने।
मेस्सी र रोनाल्डिन्होले बार्सिलोनामा सँगै फुटबल खेलेका थिए। मेस्सीको सुरुवाती फुटबल करियरका क्रममा उनले रोनाल्डिन्होबाट राम्रो सफल पाएका थिए। बार्सिलोनामा हुँदै मेस्सीले रोनाल्डिन्होसँग सिक्न पनि पाएका थिए।
बार्सिलोनामा हुँदा स्थापित दुई बीचको राम्रो सम्बन्ध अहिले पनि कायम छ। दुवै एक अर्कालाई सम्मान गर्छन् र विभिन्न अवसरहरुमा दुई बीच भेट हुँदा त्यो देखिने गर्छ।
क्लब फुटबलमा सबै सफलता हाँसिल गरेका मेस्सीको ट्रफी क्याबिनेटमा विश्वकप ट्रफीको कमि थियो। तर सन् २०२२ को विश्वकप पछि त्यो पनि पूरा भएको छ। कतारमा सम्पन्न विश्वकपमा मेस्सीले उच्च प्रदर्शन गरेका थिए। सात गोल र ३ असिस्ट सहित उनले विश्वकपमा गोल्डेन बल समेत जितेका थिए।