एजेन्सी – फ्रेन्च लेजेण्ड जिनेदिन जिदानले रियल म्याड्रिड छाडेको धेरै समय भइसकेको छ। सन् २०२१ मा रियल म्याड्रिड छाडेयता जिदान खालि छन्। त्यसयता उनले कुनै पनि टोलीको जिम्मेवारी लिएका छैनन्।
रियल म्याड्रिड छाडेपछि उनलाई युरोपका धेरै क्लबहरुले सम्पर्क गरिसकेका छन्। तर पनि उनले कुनै पनि क्लबको जिम्मेवारी सम्हाल्ने मुड बनाएनन्। बाहिर आएका खबरहरुलाई मान्ने हो भने जिदानले फ्रान्सको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने योजना बनाएका थिए।
फ्रान्सको प्रशिक्षक बन्नकै लागि उनले विभिन्न क्लबहरुको प्रस्ताव अस्विकार गरेका थिए। तर अब उनले त्यसको लागि केहि वर्ष कुर्नु नै पर्ने भएको छ। फ्रान्सका वर्तमान प्रशिक्षकले सम्झौता थप गरिसकेका छन् र उनी अझै केहि वर्ष त्यहाँ नै हुनेछन्।
यस्तोमा उनले अब नयाँ टोली खोज्नुपर्ने भएको छ। जिदानले विश्वकप पछि नै पोर्चुगल, ब्राजिल, संयुक्त राज्य अमेरिका, कतार र युनाइटेड अरब इमिरेट्सबाट आएको प्रस्तावलाई अस्विकार गरिसकेका छन्।
यसैबीच जिदानसँग अब तीन विकल्प रहेको दावी बाहिर आएको छ। जिदानले व्यवस्थापनमा फर्कने निर्णय गर्दा उनीसँग तीन विकल्प हुने दावी रहने द एथलेटिकले दावी गरेको हो। जिदानसँग अब रियल म्याड्रिड, युभेन्टस र मार्से गरी तीन विकल्प रहेको सो मिडियाले जनाएको छ।
जिदान पुनः रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारीमा फर्किन सक्ने सम्भावनालाई नकार्न नसकिने अवस्था रहेको बताइएको छ। जिदानले तेस्रो पटक रियलको जिम्मेवारी सम्हाल्न सक्ने सम्भावना कायमै रहेको द एथलेटिकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
त्यस्तै इटालियन क्लब युभेन्टस पनि जिदानका लागि एक विकल्प हुन सक्छ। युभेन्टस केही समयदेखि जिदानसँग जोडिने प्रयासमा रहेको चर्चा छ। मार्सेली कथित रूपमा अहिले उनको तेस्रो रोजाइ हुन सक्छ।
फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)को सबै भन्दा कट्टर प्रतिष्पर्धीको रुपमा रहेको मार्सेले जिदानलाई लामो समय देखि क्लबको जिम्मेवारी दिन चाहेको छ। मार्से जिदानको तेस्रो विकल्प हुन सक्छ।