सिजनको दोस्रो उपाधि नजिक बार्सिलोना, पुग्यो कोपा डेल रेको सेमिफाइनलमा !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल सोसिडाडलाई क्वाटरफाइनलमा माथि १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा फ्रान्सेली फरवार्ड औसमान डेम्वेलेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५२औं मिनेटमा जुल्स कुन्डेको पासमा गोल गर्न सफल भएका थिए ।

क्याम्प नोउमा बुधबार राति भएको खेलमा घरेलु टोलीले रियल सोसिडाडलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

४०औं मिनेटमा मिडफिल्डर ब्राइस मेन्डेस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल सोसिडाड १० खेलाडीमा समेटिन पुगेपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भयो । सर्जियो बुस्क्वेट्समाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।

५२औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले जुल्स कुन्डेको पासलाई सदुपयोग गरे । ६०औं मिनेटमा सोर्लोथ बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यस्तै अर्काे क्वाटरफाइनलमा ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको छ । ओसासुनाका इजिक्वेल एभिला र एब्डेसमाड इजालजोउलीले गोल गरे । सेभियाका युसुफ एन न्यास्रीले एक गोल फर्काए ।

आज राति आज दुई क्वाटरफाइनलमा प्रतिस्पर्धा हुँदैछ । राति १२ः४५ बजे भ्यालेन्सिया र एथलेटिको बिल्वाओ र १ः४५ बजे रियल म्याड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : , ०, ००८:१०

कारवाओ कपको सेमिफाइनलमा युनाइटेडको सहज जित !