एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख हारबाट जोगिदा आरबी लाइप्जिगले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा बायर्न एफसी कोल्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो । कोल्नका एलएस स्किरीले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए ।
एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोली बायर्नले खेलको चौथो मिनेटमा नै गोल खान पुगेको थियो । एलएस स्किरीले जुलियन चावोटको पासमा गोल गरेपछि बायर्न खेलमा १–० ले पछि पर्यो । त्यसपछि पाहुना टोलीमाथि खेलभर नै दवावमा राखेको बायर्नले गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपर्यो ।
इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा योसुवा किम्मिखले डेआट उपामेकानोको पासमा गोल गर्दै बायर्नलाई हारबाट जोगाए । यस बराबरीसँगै बायर्न १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोल्न २१ अंक जोडेर १०औं स्थानमा छ ।
बुन्डेस लिगाकै अर्काे खेलमा आरबी लाइप्जिगले साल्केलाई ६–१ ले पराजित गर्दै शीर्षस्थानको बायर्नसँगको अंक दुरी छोट्याएको छ ।लाइप्जिगको जितमा आन्द्रे सिल्भाले दुई तथा बेन्जामिन हेनरिच, टिमो वेर्नर, ड्यानी ओल्मो र युसुफ पल्सेनले समान एक गोल गरे । साल्केका सोइचिरो कोजुकीले एक गोल फर्काए । यस जितसँगै लाइप्जिग १७ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित साल्के ९ अंक जोडेर पुछारमा छ ।
अर्काे खेलमा वल्फ्सवर्गले हर्था बर्लिनलाई ५–० ले पराजित गर्दा होफेनहाइन र भिएफवी स्टुटगार्टले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।