२०२१-२२ को फितलो सिजनपछि बार्सिलोनाले २०२२-२३ सिजनको उत्कृष्ट सुरुवात गरेको छ। क्याटालान क्लब च्याम्पियन्स लिगबाट बाहिरिए पनि उत्कृष्ट खेलको निरन्तरता देखाई रहेको छ। हाल उनीहरु स्पेनिस ला लिगाको तालिकामा १७ खेलबाट ४४ अंकका साथ शीर्ष स्थानमा रहेका छन्।
जाभी हर्नान्डेजको टोलीले २०२२-२३ युइएफए युरोपा लिगको नकआउट राउन्डमा प्रतिस्पर्धा गर्नेछ र क्लबको पछिल्लो केही समयको लय हेर्दा उनीहरुसँग प्रतियोगिता जित्ने राम्रो सम्भावना छ। हाल बार्सिलोनाका खेलाडीहरूको सामान्य प्रदर्शन उत्कृष्ट रहेको छ र यस लेखमा बार्सिलोनाले यस सिजन ला लिगाको उपाधि जित्न सक्ने तीन सम्भावित कारणबारे कुरा गर्नेछौं।
३. बार्सिलोनाको निकै बलियो डिफेन्स
च्याम्पियन्स लिगमा बाहेक बार्सिलोनाको डिफेन्स जारी सिजन निकै बलियो देखिएको छ। उनीहरुले हालसम्म लिगमा १७ खेल मध्ये मात्र ४ खेलमा गोल खाएको छ भने १३ खेलमा विपक्षी टोलीले गोल गर्न सकेका छैनन्।
२. सफलताका लागि बार्सिलोना खेलाडीको भोक
उपाधि जित्न बानी परेको टोली बार्सिलोनाले २०१८-१९ सिजन देखि ला लिगा उपाधि जितेका छैनन्। यस्तोमा हरेक बार्सिलोनाका खेलाडी प्रमुख उपाधि जित्न पक्कै पनि भोको हुनुपर्छ।
१. अनुभवी तथा बलियो फरवार्ड लाइन
हाल बार्सिलोनाको फरवार्ड लाइनमा युवा तथा अनुभवको उत्कृष्ट मिश्रण रहेको छ। आन्सु फाती र फेरान टोरेस जस्ता युवा स्टारका साथै लेवान्डोस्की जस्ता अनुभवी ततः विश्व स्तरीय खेलाडीको मिश्रण रहेको बार्सिलोनामा डेमबेले र राफिन्हा जस्ता उत्कृष्ट खेलाडी पनि समावेश छन्।