एल’इक्विपेका अनुसार अर्जेन्टिनी स्टार लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) र फ्रान्सेली क्लबका अध्यक्ष नासेर अल-खेलाफीप्रति आभारी रहेका छन्।
फ्रान्सेली मिडिया आउटलेटले दाबी गरे अनुसार अर्जेन्टिनाका सुपरस्टारले बार्सिलोनाबाट अलपत्र पर्दा सम्भव भएसम्म सबै काम गरेकोमा पेरिसका दिग्गजप्रति आभारी छन्। लियोनल मेस्सीले २०२१ को गर्मीमा बार्सिलोनासँगको आफ्नो २१ वर्षको सम्बन्ध समाप्त गरेका थिए। त्यतिखेर, ब्लाउग्राना क्लब आर्थिक सङ्घर्षबाट गुज्रिरहेको थियो र मेस्सीको पारिश्रमिकका कारण सम्झौता गर्न असफल भएपछि उनी फ्रि एजेन्ट बनेका थिए।
सात पटकका बालोन डी’ओर विजेता फ्रान्सेली राजधानीको जीवनमा निकै खुसी रहेको एल इक्विपेको दाबी छ। लियोनल मेस्सीको पीएसजी सँगको सम्झौता यस गर्मीमा सकिँदैछ र माथि उल्लेखित रिपोर्टले दाबी गरेको छ कि उनले पार्क डेस प्रिन्सेसमा रहन आफ्नो सम्झौता नवीकरण गर्ने सम्भावना छ।
पूर्व बार्सिलोना कप्तानले पीएसजीबाट डेब्यु सिजन खासै प्रभावशाली खेल्न सकेनन्। उनले पछिल्लो सिजन हरेक प्रतियोगितामा ३४ खेलमा ११ गोल र १५ असिस्ट प्रदान गरेका थिए। यद्यपि, अर्जेन्टिनी स्टार यो सिजन निकै उत्कृष्ट लयमा रहेका छन् र क्रिस्टोफ गाल्टियरको नेतृत्वमा खुलेर प्रदर्शन गरिरहेका छन्।
३५ वर्षीय स्ट्राइकरले जारी सिजन लिग १ दिग्गजका लागि सबै प्रतियोगितामा २१ खेलमा १३ गोल गरेका छन् र १४ सहयोग प्रदान गरेका छन्।