पूर्व स्पेन तथा बार्सिलोना प्रशिक्षक छिट्टै ब्राजिलियन राष्ट्रिय टोलीको प्रशिक्षक बन्न सक्छन्। विश्वकपपछि राजिनामा दिएका टिटेको स्थानमा ब्राजिलले लुइस एनरिकेलाई अनुबन्ध गर्न छलफल सुरु गरेको छ।
ब्राजिल फुटबल कन्फेडेरेसनका अध्यक्ष अड्नाल्डो रोड्रीग्वेज आउँदो हप्ता सम्भावित प्रशिक्षकसँग कुरा गर्न युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको छ र युओएल एस्पोर्टेका अनुसार लुचो पनि सम्भावित प्रशिक्षकको सूचीमा रहेका छन्। सीबीएफले यसअघि नै एनेरिकेका पूर्व बार्सिलोना सहकर्मी रोनाल्डो नजरियो मार्फत लुचोको उपलब्धता बारेमा बुझिसकेको बताइएको छ।
तर ब्राजिलियन राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने सूचीमा लुइस एनरिके एक मात्र उम्मेदवार छैनन्। वर्तमान रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटि पनि रोड्रीग्वेजको रडारमा रहेका छन् तर इटालियन प्रशिक्षकले हाल आफ्नो म्याड्रिड छाड्ने कुनै मनशाय नरहेको प्रष्ट पारिसकेका छन्।
गत वर्ष कतारमा भएको विश्वकप २०२२ मा ब्राजिलियन टोली अप्रत्यासित रूपमा अन्तिम ८ मा क्रोएसियासँग पराजित हुँदै बाहिरिएपछि टिटेले लगत्तै आफ्नो पदबाट राजीनामा दिएका हुन्। अर्कोतर्फ, स्पेनले पनि विश्वकपमा निराशाजनक प्रदर्शन गरेको थियो। अन्तिम १६ मा मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि ५२ वर्षीय प्रशिक्षकले पनि स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको पदबाट निकास पाएका हुन्।