एजेन्सी – साउदी प्रो लिगका अध्यक्ष अब्दुलअजीज अल अफलेकले क्रिस्टियानो रोनाल्डोको अल नासर डेब्यूले पूरा विश्वको ध्यान मध्य पूर्वी देश तर्फ तान्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा अफलेकले रोनाल्डोको डेब्यूले पूरा विश्वको ध्यान साउदी तर्फ तान्ने दावी गरेका हुन्।
म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द भएपछि रोनाल्डोले सन् २०२२ को अन्तिममा साउदी क्लब अल नासरसँग सम्झौता गरेका थिए। अल नासरले रोनाल्डोलाई २ सय मिलियन युरो पारिश्रमिक दिने सम्झौता गर्दै रोनाल्डोलाई भित्र्याएको हो।
सम्झौता गरेको केहि दिनपछि नै साउदी पुगेपनि रोनाल्डोले अहिले सम्म अल नासरका लागि डेब्यू गर्न पाएका छैनन्। पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा हुँदा गरेको एक गल्तीका कारण उनी माथि दुई खेलको प्रतिबन्ध लागेको थियो। जसकारण उनले अहिले सम्म डेब्यू गर्न पाएका छैनन्।
तर आज राति रोनाल्डोले डेब्यू गर्न सक्ने उच्च सम्भावना रहेको छ। रोनाल्डोले आज राति अल एटिफाक विरुद्धको खेलमा अल नासरका लागि डेब्यू गर्न सक्छन्। रोनाल्डोको डेब्यू भन्दा अगाडी एक मिडियासँग कुराकानी गर्ने क्रममा साउदी प्रो लिगका अध्यक्ष अफलेकले पूरा विश्वको नजर साउदी लिगमा हुने बताए।
उनले भने,”हामीलाई कुनै शंका छैन कि फुटबल जगतको नजर आइतवार [जनवरी २२] राति साउदी प्रो लिग र मिसुल पार्कमा दृढताका साथ हुनेछ। बिहीबार [जनवरी 19] रातमा सोल्ड आउट उपस्थिति र आइतबार क्रिस्टियानो रोनाल्डोको बहुप्रतिक्षित लिग डेब्युले साउदी फ्यानहरूको फुटबलप्रतिको ठूलो जोशको सङ्केत गर्दछ।”