एजेन्सी – प्रिमियर लिग लिडर आर्सनलले आज महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। सिजनको १९ औं खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडको सामना गर्न लागेको हो।
आर्सनल र युनाइटेड दुवै आज जित निकाल्ने दाउमा हुनेछन्। युनाइटेडलाई पराजित गर्न सके आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा बलियो पकड बनाउनेछ। त्यस्तै आर्सनललाई पराजित गर्न युनाइटेड प्रिमियर लिगको उपाधि जित्ने दौडमा सामेल हुनेछ।
आर्सनल अहिले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ। सिजनका १८ खेल खेल्दा उसले मात्रै एक खेलमा हार बेहोरेको छ। सो हार आर्सनलले युनाइटेडसँगै बेहोरेको हो। पहिल्लो भेटका क्रममा युनाइटेडले आर्सनललाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो।
आर्सनल आज सो हारको बदला लिने पक्षमा पनि हुनेछ। आर्सनलले अहिले सम्म १५ खेलमा जित निकालिसकेको छ भने मात्रै दुई खेलमा बराबरीमा रोकिएको छ। आज युनाइटेड विरुद्ध जित निकाल्न सके आर्सनल युनाइटेड भन्दा ११ अंकले अगाडी हुनेछ। अहिले आर्सनलको ४७ अंक छ।
त्यस्तै युनाइटेडले यस सिजन १९ खेल खेलिसकेको छ। यस बीचमा उसले १२ जित निकाल्दा ४ खेलमा हार बेहोरेको छ। त्यस्तै ३ खेलमा भने युनाइटेडले बराबरी खेलेको छ। एक खेल बढी खेलेको युनाइटेड आर्सनल भन्दा ८ अंकले पछाडी छ। युनाइटेडको ३९ अंक छ।
आज युनाइटेडले आर्सनललाई पराजित गरेको खण्डमा त्यसको फाइदा दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई पनि हुनेछ। सिटीले १९ खेलबाट ४२ अंक बनाएको छ। आर्सनललाई युनाइटेडले पराजित गरे आर्सनल, सिटी र युनाइटेड तीन क्लब उपाधि होडमा हुनेछन्।
आर्सनल र युनाइटेड बीचको खेल आर्सनलको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १० बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।