एजेन्सी – साउदी प्रो लिग अन्तर्गत पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध भएको अल नासरले आज राति अल एटिफाकको सामना गर्दैछ। सिजनको १४ औं खेलमा अल नासरले अल एटिफाकको सामना गर्न लागेको हो।
अल नासर र अल एटिफाक बीचको खेल नेपाली समय अनुसार ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल नासरको घरेलु मैदानमा हुनेछ। अल एटिफाक सिजनको पाँचौ जितको खोजिमा हुँदा अल नासर भने १० औं जितको खोजिमा रहनेछ।
अल एटिफाकले सिजनका १३ खेल खेल्दा अहिले सम्म मात्रै ४ खेलमा जित निकालेको छ भने ५ खेलमा हार बेहोरेको छ। ४ खेलमा बराबरी खेल्दा अल एटिफाकले १६ अंक बनाएर लिगको १० औं स्थानमा रहेको छ।
उता अल नासर भने लिगको दोस्रो स्थानमा छ। सिजनका १३ खेल खेल्दा ९ खेल मा जित र १ खेलमा हार सहित अल नासरले ३० अंक बनाएको छ। यस बीचमा उसले ३ खेल बराबरी खेलेको छ। अल नासर शिर्ष स्थानको अल इत्तिहाद भन्दा एक अंकले पछाडी छ। आजको खेलमा जित निकालेको खण्डमा अल नासर शिर्ष स्थानमा उक्लिनेछ।
रोनाल्डो खेल्ने सम्भावना कति ?
यहि महिनाको सुरुवातमा साउदी पुगेका रोनाल्डो अहिले सम्म अल नासरका लागि डेब्यू गर्न पाएका छैनन्। पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा हुँदा गरेको एक गल्तीका कारण उनी माथि दुई खेलको प्रतिबन्ध लागेको थियो।
जसकारण उनले अल नासरमा साउदी पुग्ने बितिकै डेब्यू गर्न पाएनन्। तर आज हुने खेलका लागि भने रोनाल्डो डेब्यूका लागि खुला भइसकेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार आजको खेलमा रोनाल्डोले डेब्यू गर्न सकने उच्च सम्भावना रहेको छ।