एजेन्सी – बेलायती प्रसारक पियर्स मोर्गनका अनुसार च्याम्पियन्स लिग खेल्नको लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो स्कटिस टोलीमा सामेल हुनको लागि तयार हुन सक्थे। रोनाल्डोसँग धेरै नजिकको सम्बन्ध रहेका मोर्गनले रोनाल्डो च्याम्पियन्स लिग खेल्नको लागि जुन सुकै क्लब जान तयार थिए भन्ने दावी गरेका हुन्।
हालसालै टकस्पोर्टसँगको कुराकानीका क्रममा मोर्गनलाई सेल्टिक र रेन्जर्स जस्ता स्कटिस क्लबहरुले साउदी प्रो लिग क्लबहरूको जस्तै पारिश्रमिक प्रस्ताव गरेको भए रोनाल्डो स्कटिश प्रिमियरशिपमा जान्थे भनेर प्रश्न गरिएको थियो।
“यदि स्कटिश प्रिमियरसिपमा साउदीहरूले जस्तै ठूलो लगानी हुन्थ्यो भने भने रोनाल्डो त्यहाँ खेल्न जान्थे ?” भनेर प्रश्न गरिँदा मोर्गनले रोनाल्डोले अन्तिम समय सम्म पनि च्याम्पियन्स लिगमा खेल्ने चाहना राखेको सुनाए।
मोर्गनले टकस्पोर्टसँगको कुराकानीका क्रममा रोनाल्डो च्याम्पियन्स लिगका रहेका आफ्ना रेकर्डहरुलाई जोगाउन चाहन्थे भन्ने बताउन छुटाएनन्। उनले भने,”रोनाल्डो च्याम्पियन्स लिग फुटबल भएको कुनै पनि ठाउँमा जान सक्थे। मलाई एक तथ्य थाहा छ किनकि उनले च्याम्पियन्स लिग करियरलाई थप अगाडी बढाउन चाहेको बताउने गरेका थिए।”
मोर्गनका अनुसार रोनाल्डो च्याम्पियन्स लिगमा आफूले बनाएका रेकर्डहरु लियोनेल मेस्सीले तोड्न नसकुन् भन्ने चाहन्थे। ती रेकर्डहरु जोगाउनको लागि रोनाल्डोले च्याम्पियन्स लिगमा रहन प्रयास गरेको मोर्गनको भनाई छ।
“उनीसँग च्याम्पियन्स लिगमा धेरैजसो रेकर्डहरू छन्। उनी ती रेकर्डहरु जोगाउन र थप नयाँ रेकर्डहरु बनाउन चाहन्थे। मेस्सीले नभेट्टाउन भन्ने उनी चाहन्थे। च्याम्पियन्स लिगको ‘गोट’ बन्ने उनको चाहना थियो। त्यो उनका लागि उत्प्रेरक कारक थियो।”,मोर्गनले भने।