एजेन्सी – प्रिमियर लिगको जारी सिजनमा धेरै नै कम्जोर प्रदर्शन गरिरहेको छ। प्रिमियर लिगका आधा खेलहरु सकिँदा लिभरपुल लिगको नवौं स्थानमा सिमित भएको छ। सन् २०२१-२२ को सिजनमा लिभरपुलले प्रिमियर लिगमा मात्रै दुई खेल हारेको थियो।
तर लिभरपुलले यस सिजन ६ खेलमा हार बेहोरिसकेको छ। यस बीचमा लिभरपुलले मात्रै ८ खेलमा जित निकालेको छ। सिजनका १८ खेल खेल्दा लिभरपुल ४ खेलमा बराबरीमा रोकिएको छ।
सन् २०१५ मा योर्गेन क्लोप लिभरपुल आएदेखि उच्च लयमा रहेर उत्कृष्ट फुटबल खेले पनि यस सिजन लिभरपुल धेरै नै कम्जोर देखिएको छ। हालको अवस्थालाई हेर्ने हो भने यस सिजन लिभरपुललाई शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुन पनि हम्मे-हम्मे पर्न देखिन्छ। राम्रो कम्ब्याक गर्दै शिर्ष चारमा पर्ने हो भने लिभरपुलले यस सिजन निम्न उपायहरु अपनाउन सक्छ।
मिडफिल्डर भित्र्याउने
लिभरपुलको कम्जोर लयको मुख्य कारण मध्ये क्लबमा देखिएको मिडफिल्ड समस्या हो। लिभरपुलका भएका लगभग सबै मिडफिल्डरहरु राम्रो लयमा छैनन्। भरपर्दो डिफेन्सिभ मिडफिल्डर फाबिन्होले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। कप्तान जोर्डन हेन्डरसन पनि पहिला जस्तो रहेनन्। स्पेनिस मिडफिल्ड मास्टर थियागोको हालत पनि यस सिजन त्यति राम्रो छैन।
नाबी केइटा अझै पनि लिभरपुलले आशा गरेको खेलाडी हुनबाट धेरै टाढा छन्। लिभरपुलले अब कम्ब्याक गर्ने हो भने तत्कालै एक मिडफिल्डर भित्र्याउनु पर्ने हुन्छ। विश्वका उत्कृष्ट मिडफिल्डर भित्र्याउन अहिले नै सम्भव भने हुने देखिँदैन। यस अवस्थामा लिभरपुलले ठिकै चलेका युवा मिडफिल्डरलाई भित्र्याएर कम चलाउन सक्छ।
फर्मेसन परिवर्तन
ठूला खेलाडीमा हस्ताक्षर गर्दा धेरै चरहरू समावेश हुन्छन् जुन क्लबको नियन्त्रणमा हुँदैन। त्यसको लागि लिभरपुलले धेरै लगानी गर्नुपर्ने हुन्छ। सामान्यतया लिभरपुल धेरै खर्च गर्दैन। यस्तोमा लिभरपुलले क्लबको फर्मेसन परिवर्तन गर्न सक्छ। क्लोपले आफ्नो टोलीलाई प्रायः ४-३-३ को फर्मेसनमा खेलाउने गरेका छन्। फ्याबिनहोले डिफेन्सिभ मिडफिल्ड क्षेत्र एक्लै कभर गर्न संघर्ष गरिरहेको अवस्थामा लिभरपुललाई ४-२-४ को फर्मेसन प्रभावकारी साबित हुन सक्छ।
खेलाडीहरूको पोजिसनमा प्रयोग
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोला प्राय खेलाडीहरूको पोजिसन परिवर्तन गर्छन्। विभिन्न समयमा उनले खेलाडीहरुको पोजिसनमा परिवर्तन गरेको अवस्था छ। यता क्लोपले भने खासै खेलाडीहरुको पोजिसन परिवर्तन गर्न रुचाउँदैनन्। तर कम्जोर प्रदर्शनबाट छुटकारा पाउन उनले अहिले केहि नौलो प्रयोग गर्न सक्छन्। केहि फुटबल विश्लेषकहरुले ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डलाई केन्द्रीय मिडफिल्डमा खेल्न सक्ने विश्लेषण गर्छन्।