गत वर्षको अन्तिममा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच निकै रोमाञ्चक खेल भएको थियो। यस्तोमा, २०२२ विश्वकपको फाइनल करिब १.५ बिलियन मानिसले हेरेको फिफाले घोषणा गरेको छ।
गत डिसेम्बर १८ मा कतारको लुसेल स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स एक-अर्कासँग तेस्रो उपाधिका लागि भिडेका थिए। खेलको पहिलो हाफमा नै कप्तान लियोनल मेस्सी र एन्जल डी मारियाले गोल गर्दै २-० को अग्रता दिलाएपनि दोस्रो हाफमा १०० सेकेन्ड भित्र दुई गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई खेलमा फर्काएका थिए।
निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरक्त समयमा पुगेको थियो जसमा दुवै टोलीले १-१ गोल गरेपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टी सुटआउटमा एम्बाप्पे र मेस्सीले क्रमशः फ्रान्स र अर्जेन्टिनाको पहिलो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए भने फ्रान्सका किंग्सले कोमन र औरीलियन चुवामेनीले आ-आफ्नो पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। अर्कोतर्फ, अर्जेन्टिनाका हरेक खेलाडीले गोल गरेपछि ला अल्बीसेलेस्टेले फ्रान्सलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दै सन् १९८६ पछि पहिलो विश्वकप जित्न सफल भएको हो।
कतार विश्वकप २०२२ विश्वकप इतिहास कै सबैभन्दा रोमाञ्चक मध्ये एक थियो भने यसको फाइनल खेलले सुनमा सुगन्ध भर्ने काम गरेको थियो। र फिफाका अनुसार विश्व फुटबल कै सबैभन्दा ठूलो खेल विश्वभरका १.५ बिलियन मानिसले आधिकारिक रूपमा हेरेका छन्।