यसै महिना मात्र म्यानचेस्टर युनाइटेडसँग आफ्नो सम्झौता रद्द भएपछि साउदी क्लब अल-नासर पुगेका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले आज राति साउदी माटोमा आफ्नो पहिलो खेल खेल्दैछन्।
किंग फाहद अन्तराष्ट्रिय स्टेडियममा आज राति नेपाली समय अनुसार १०:४५ बाट सुरु हुने खेलमा रोनाल्डोको कप्तानीमा रहेको साउदी अल-स्टारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दा सम्भवत अन्तिम पटक फुटबल समर्थकले रोनाल्डो विरुद्ध मेस्सी देख्न पाउनेछन्। उत्कृष्ट टोलीले भरिपूर्ण दुवै टोली आज हुने मैत्रीपूर्ण खेल जित्ने दाउमा हुनेछन्।
साउदी लिगका दुई महारथी अल-नासर र अल-हिलालको संयुक्त ११ को कप्तानको जिम्मेवारी पोर्चुगिज कप्तानले निभाउने छन्। रोनाल्डोसँग दुई क्लबका उत्कृष्ट खेलाडीको मिश्रण हुनेछ।
अर्कोतर्फ, पीएसजी लिग १ को अंक तालिकाको शीर्ष स्थानमा रहेको टोली हो। उनीहरुसँग मेस्सी मात्र नभएर नेयमार जुनियर, किलियन एम्बाप्पे, सर्जियो रामोस जस्ता उत्कृष्ट खेलाडी हुनेछन्। आफ्नो अन्तिम खेलमा रेन्नेससँग १-० ले पराजित भएको पेरिस क्लब साउदी अल-स्टारलाई पराजित गर्दै जितको बाटोमा फर्किन चाहन्छ।
पीएसजी विरुद्ध साउदी अल-स्टार बीचको खेल कति बजे हुनेछ र कसरी हेर्ने ?
नेपाली समय अनुसार यो खेल आज राति १०:४५ बाट सुरु हुनेछ। नेपालमा यो खेल टिभीमा कुनै च्यानलमा प्रसारण हुने छैन। तर यी दुई बीचको खेल फ्रेन्च क्लब पीएसजीको फेसबुक पेज तथा युट्युब च्यानलबाट भने प्रत्यक्ष रूपमा हेर्न पाइनेछ।