एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज राति म्यानचेस्टर सिटी र टोटेनहम आमने-सामने हुँदैछन्। सिटीले प्रिमियर लिगको १९ औं खेल तथा टोटेनहमले २० औं खेलको रुपमा एक अर्काको सामना गर्न लागेका हुन्।
यस सिजन यी दुई टोली एक पटक पनि आमने-सामने भएका छैनन्। सिटी र टोटेनहम बीचको खेल सिटीको घरेलु मैदानमा हुनेछ। खेल रातको १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
आज राति हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ। उपाधि होडमा रहिरहन सिटी टोटेनहमलाई हराउनै पर्ने दबाबमा हुनेछ। उता टोटेनहमलाई पनि शिर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने आशा जीवित राख्नको लागि जितको आवश्यकता पर्नेछ।
टोटेनहम अहिले प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ। टोटेनहमले १९ खेल बाट ३३ अंक बटुलेको छ। यस बीचमा उसले १० जित निकाल्दा ६ खेलमा हार बेहोरेको छ। त्यस्तै बाँकी ३ खेलमा भने बराबरी निकालेको छ।
यस्तै दोस्रो स्थानमा रहेको सिटीसँग भने ३९ अंक रहेको छ। सिटीले सिजनका १८ खेलबाट यति अंक बनाएको हो। सिटीले अहिले सम्म १३ खेलमा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ। त्यस्तै ३ खल भने बराबरी खेलेको छ।
सिटी र टोटेनहम दुवैले सिजनका पछिल्ला खेलमा उस्तै उस्तै नतिजा निकालेका छन्। दुवैले सिजनका पछिल्ला खेलमा दुई जित निकाल्दा दुई हार बेहोरेका छन्। त्यस्तै एक खेलमा भने बराबरी खेलेका छन्।
गत सिजन टोटेनहमले सिटीलाई प्रिमियर लिगका दुवै खेलमा पराजित गरेको थियो। टोटेनहम गत सिजनमा सिटीलाई प्रिमियर लिगका दुवै खेलमा पराजित गर्ने एक्लो टोली थियो। सिटी र टोटेनहम बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।