एजेन्सी – ब्राजिलियन स्टार नेयमारको भविष्य निरन्तर चर्चामा छ। गत सिजनको अन्त्य पछि सुरु भएको नेयमारको ट्रान्सफरको चर्चा अझै पनि जारी छ। नेयमारको नाम पछिल्लो समय विभिन्न क्लबहरुसँग जोडिसकेको छ।
फ्रेन्च मिडियाहरुले निरन्तर पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नेयमारलाई यस सिजनको अन्त्यसँगै बिक्री गर्ने योजना बनाएको दावी गरिरहेका छन्। उता बेलायतका मिडियाहरुले भने नेयमारमा प्रिमियर लिग क्लबहरुको नजर रहेको चर्चा गरिरहेका छन्।
बेलायती मिडियाहरुका अनुसार प्रिमियर लिगका तीन क्लबले नेयमारलाई भित्र्याउन चाहेका छन्। म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड र चेल्सीले नेयमारलाई भित्र्याउन चाहेको बेलायती मिडियाहरुको दावी छ।
यसै बीच युरोपका केहि मिडियाहरुले नेयमार प्रिमियर लिग भन्दा पनि लालिगा जान चाहेको भनेर समाचार सम्प्रेषण गरेका छन्। एल नेसियोनलले रिपोर्ट अनुसार नेयमार लालिगामा पहिला पनि खेलिरहेका कारण लालिगा जान चाहन्छन्।
नेयमार लालिगा जान चाहेपनि क्याटलान क्लब बार्सिलोना नेयमारलाई भित्र्याउने पक्षमा रहेको छैन। यस अवस्थामा नेयमार बार्सिलोना भन्दा पनि रियल म्याड्रिड जान सक्ने सम्भावना रहेको एल नेसियोनलले जनाएको छ।
नेयमारले पिएसजी छाडेको खण्डमा उनी रियल म्याड्रिड जान सक्ने सम्भावना देखिएको र उनका एजेन्ट सम्म रहेका पिताले रियललाई नेयमार अफर गरिसकेको एल नेसियोनलको दावी छ।
रियलमा ब्राजिलका भिन्सियस जुनियर समेत रहेका छन्। ब्राजिलियन टोलीमा यी दुई खेलाडी बीच राम्रो तालमेल रहने गरेको छ। यस्तोमा नेयमार रियल गए दुई बीच क्लब स्तरमा पनि राम्रो तालमेल भएको देख्न पाइनेछ।