एजेन्सी – प्रिमियर लिगमा सिजनका लगभग आधा खेलहरु सकिनेक्रममा छन्। केहि क्लबहरुले १८ खेल खेलिसकेका छन् भने केहिले १९ अथवा २० खेल खेलिसकेका छन्। लगभग आधा खेल सकिन लागेको अवस्थामा यति बेला आर्सनल लिगको शिर्ष स्थानमा रहेको छ भने लिगको अन्तिमा स्थानमा साउथह्याम्टन रहेको छ।
प्रिमियर लिगको जारी सिजनमा पछिल्ला सिजनहरु भन्दा फरक नतिजाहरु निस्किरहेका छन्। यस सिजन आर्सनल, ब्राइटन, ब्रेनफोर्ड, न्यूक्यासल युनाइटेड जस्ता क्लबहरुले अप्रत्याशित रुपमा राम्रो खेलिरहेका छन्।
अहिले यहाँ धेरै राम्रो खेलिरहेका प्रिमियर लिग टोलीहरु भन्दा पनि सबै भन्दा प्रिमियर लिगको जारी सिजनका उत्कृष्ट खेलाडीहरुको चर्चा हुन गइरहेको छ। प्रिमियर लिगको यस सिजनमा सबै भन्दा राम्रो लयमा रहेका खेलाडीहरु निम्न छन्।
मिगुएल अल्मिरोन – न्यूक्यासल युनाइटेड
१९ खेलबाट ३८ अंक बटुलेको न्यूक्यासल यति बेला प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ। न्यूक्यासल तेस्रो स्थानमा हुनुको पछाडी मिगुएल अल्मिरोनको ठूलो हात छ।
उनले यस सिजन धेरै नै राम्रो प्रदर्शन गरिरहेका छन्। मिगुएल अल्मिरोनले प्रिमियर लिगको यस सिजनमा १९ खेलमा ९ गोल गरिसकेका छन्। साथै उनले अहिले सम्ममा एक असिस्ट पनि दिएका छन्।
मार्कस रासफोर्ड – म्यानचेस्टर युनाइटेड
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड यति बेला चौंथो स्थानमा रहेको छ। युनाइटेडले १८ खेलबाट ३८ अंक जोडेको छ। एरिक टेन ह्याग प्रशिक्षकमा आए देखि क्लबका धेरै खेलाडीहरुमा सकारात्मक सुधारहरु देखिएका छन्।
टेन ह्याग अन्तर्गत मार्कस रासफोर्ड पनि करियरकै उत्कृष्ट फुटबल खेलिरहेका छन्। उनले युनाइटेडले खेलेका सबै १८ खेल खेलेका छन्। जसमा उनले ८ गोल गर्दै ३ असिस्ट दिएका छन्।
कासेमिरो – म्यानचेस्टर युनाइटेड
जारी सिजनमा युनाइटेड राम्रो लयमा हुनुको मुख्य श्रेय ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई जान्छ। उनी रियल म्याड्रिडबाट आएदेखि युनाइटेड छुट्टै लयमा छ।
उनले मिडफिल्डमा रहेर युनाइटेडको खेललाई आकर्षक मात्र बनाएका छैनन्, आवश्यक पर्दा उत्कृष्ट गोल पनि गरेका छन्। प्रिमियर लिगको जारी सिजनमा युनाइटेडका लागे १५ खेल खेल्दा उनले २ गोल गर्दै ३ असिस्ट दिएका छन्।
एर्लिङ हालाण्ड – म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटीले ग्रीष्ममा बोरुसिया डर्टमुन्डबाट एर्लिङ हालान्डलाई ६० मिलियन युरो खर्च गरेर भित्र्याएको थियो। सिटी आउँदा प्रिमियर लिगमा उनलाई खेल्न कठिन हुने अनुमान धेरैले गरेका थिए।
तर उनले प्रिमियर लिगमा गोल वर्षा गर्न समय नै लगाएनन्। उनले प्रिमियर लिगमा सिजनको सुरुबाटै गोल गर्न थाले। हालसम्म १७ प्रिमियर लिग आउटिङमा उनले २१ गोल गरेका छन्। साथै उनले ३ असिस्ट पनि दिएका छन्।
मार्टिन ओडेगार्ड – आर्सनल
आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा हुनुको श्रेय यति कसैलाई जान्छ भने ती मार्टिन ओडेगार्ड हुन्। आर्सनलको कप्तानी सम्हालिरहेका उनले आर्सनललाई उच्च गति दिरहेका छन्।
मिडफिल्डमा बसेर खेल नियन्त्रण गरिरहेका उनले आर्सनललाई सन्तुलित पनि बनाउने कार्य गरिरहेका छन्। प्रिमियर लिगको जारी सिजनमा उनले आर्सनलका लागि १७ खेल खेल्दा ८ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्।