एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी म्यागुइरलाई प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले भित्र्याउन खोजेको थाहा हुन आएको छ। बेलायतबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुका अनुसार वेस्ट ह्यामले म्यागुइरलाई भित्र्याउन खोजेको हो।
वेस्ट ह्यामले म्यागुइरलाई लोनमा भित्र्याउन खोजेको बताइएको छ। पछिल्लो समय युनाइटेडको टोलीमा नियमित पर्न संघर्ष गरिरहेका म्यागुइरलाई वेस्ट ह्यामले यस सिजनभरका लागि लोनमा भित्र्याउन चाहेको बेलायती मिडियाहरुले जनाएका छन्।
प्रशिक्षक एरिक टेन ह्यागको विश्वास जित्न नसकेका म्यागुइर यस सिजन युनाइटेडको टोलीमा नियमित पर्न सकिरहेका छैनन्। म्यागुइरले यस सिजन मात्रै ८ प्रिमियर लिग खेल खेलेका छन्। त्यसमध्ये ४ खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा थिए।
सबै प्रतियोगिताको कुरा गर्ने हो भने उनले यस सिजन कुल १५ खेल खेलेका छन्। जसमा उनले ७ पटक मात्रै सुरुवाती ११ मा स्थान बनाउन सकेका छन्। एरिक टेन ह्यागले राफेल वराने र लिसान्ड्रो मार्टिनेजको रक्षात्मक जोडीलाई प्राथमिकता दिरहेका छन् भने यो जोडीले धेरै राम्रो प्रदर्शन पनि गरिरहेका छन्।
यस्तोमा टेन ह्यागले म्यागुइरलाई मौका दिने सम्भावना कमै हुन आउँछ। यस्तै लेफ्ट-ब्याक ल्यूक शलाई म्यागुइर भन्दा बढी प्राथमिकता दिने पक्षमा टेन ह्याग देखिएका छन्। यस्तोमा म्यागुइरको भूमिका थप खुचिने पक्का हुन्छ।
मिररका अनुसार रेड डेभिल्सले सन् २०१९ मा म्यागुइरका लागि तिरेको ८५ मिलियन पाउण्डमा ठूलो घाटा बेहोर्न तयार छ। उनलाई वेस्ट ह्यामले जनवरी ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको मिररले जनाएको छ।
वेस्ट ह्याम यति बेल रेलिगेसन जोनमा छ। रेलिगेसन जोनबाट माथि उठ्न उसलाई गार्हो परिरहेको छ। वेस्ट ह्यामले केहि खेलाडी थपेर सिजनको बाँकी खेलहरुमा राम्रो गर्दै रेलिगेसनबाट बच्ने योजना बनाएको छ।