एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्ना शहरमा वासिन्दाहरुसँग माफी मागेका छन्। विश्वकप सफलता पछि सबैलाई भेट्न सम्भव नभएको भन्दै मेस्सीले आफ्ना शहरका वासिन्दाहरुसँग माफी मागेका हुन्।
कतार विश्वकपमा मेस्सीले उच्च प्रदर्शन गरेका थिए। उनकै उच्च प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता बनेको थियो। विश्वकप जितेपछि अर्जेन्टिना फर्किएका उनी अहिले पनि अर्जेन्टिनामै छन्। विश्वकप जितेको खुशियाली मनाउने क्रम अझै पनि जारी छ।
मेस्सी विभिन्न कार्यक्रमहरुमा सहभागी भएपछि अहिले आफ्नो परिवार र मित्रजनहरुसँग समय व्यतित गरिरहेका छन्। यस बीच हालसालै मेस्सीलाई भेट्न फ्युनेसका मेयर रोली सान्टाक्रोस मेस्सीकै घरमा पुगेका थिए।
त्यसक्रममा मेस्सीलाई उनले विशेष सम्मान पनि गरेका थिए। उनले मेस्सीलाई ‘माननीय नागरिक’को सम्मानपत्र समेत प्रदान गरेका थिए। त्यसक्रममा मेस्सीले एक सन्देश जारी गर्दै साथ र सहयोगका लागि धन्यवाद मात्र दिएनन्, सबैलाई भेट्न नसकेकोमा माफी पनि मागे।
कुनै समय सबैलाई भेट्न सम्भव नहुने भन्दै मेस्सीले माफी मागेका छन्। अहिले आफू परिवार र मित्रजनसँग रहेको मेस्सीले सो भिडियो सन्देशमा भनेका छन्।
“फ्युनेस र पूरा रोजारियोका सबै मानिसहरूलाई हाम्रो अभिवादन पठाउन चाहन्छौं। सधैं हामीलाई देखाउनुभएको मायाको लागि हामी तपाईंलाई धन्यवाद दिन चाहन्छौं। साथै हामी माफी पनि माग्न चाहन्छौं। किनकि कहिलेकाहीँ सबैलाई भेट्न गार्हो हुने रहेछ। हामी अब केही दिन परिवार र साथीहरूसँग हुनेछौँ।”,मेस्सीले भिडियो सन्देशमा भनेका छन्।