एजेन्सी – प्रिमियर लिग कला आर्सनललाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले टक्कर दिने भएको छ। एक युवा खेलाडी भित्र्याउने मामलामा पिएसजीले आर्सनललाई कडा टक्कर दिने भएको हो।
विभिन्न खेल मिडियाहरुका अनुसार इटालियन युवा मिडफिल्डर इब्राहिमा बाम्बालाई आर्सनलले भित्र्याउन चाहेको छ र सो दौडमा पिएसजी पनि सामेल हुने भएको छ। बाम्बा अहिले पोर्चुगिज क्लब भिटोरिया गुइमारेसमा रहेका छन्।
गुइमारेसमाका लागि राम्रो प्रदर्शन गरिरहका उनको सम्झौता सन् २०२५ सम्मका लागि छ। उनी सन् २०२० मा त्यहाँ पुगेका थिए। उनको बजार मूल्य अहिले साढे ३ मिलियन युरो रहेको छ। तर गुइमारेसले बाम्बाका लागि बजार मूल्य भन्दा बढी रकम माग गरिरहेको बताइन्छ।
बाम्बा र क्लब बीचको सम्झौतामा ३० मिलियन युरो भन्दा बढीको रिलिज क्लज रहेको छ। जसकारण उनलाई भित्र्याउन चाहने क्लबले अब बजार मूल्य भन्दा लगभग १० गुणा रकम गुइमारेसलाई तिर्नुपर्ने छ। उनले यस सिजन पोर्चुगिज क्लबका लागि १८ खेल खेलेका छन्। जस मध्ये १७ खेलमा उनी सुरुवाती ११ को रुपमा परेका थिए।
बाम्बालाई भित्र्याउन चाहने क्लबहरुमा आर्सनल र पिएसजी मात्रै एक्लो छैनन्। क्लब ब्रुग र एटलान्टाले पनि उनलाई भित्र्याउन चाहेका छन्। तर बाम्बाका लागि मुख्य प्रतिष्पर्धा आर्सनल र पिएसजी बीच नै हुने देखिन्छ।
गुइमारेसले बाम्बालाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना नबनाएपनि ठूला क्लबले चासो राखेका कारण आफ्नो योजनामा परिवर्तन गर्न सक्ने ट्रान्सफर बजारमा जानकारहरु बताउँछन्।