रोनाल्डोले तत्काल सन्यास नलिने !

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप त्यति राम्रो रहेन। पोर्चुगल क्वाटरफाइनलबाटै आउट हुँदा उनको विश्वकप जित्ने सपना चकनाचुर भयो। त्यति मात्र नभई रोनाल्डोले विश्वकपमा खासै राम्रो प्रदर्शन पनि गर्न सकेनन्।

कतार विश्वकपको पहिलो खेलमा गोल गर्दै दुर्लभ कीर्तिमान राखेका उनका लागि त्यसपछि भने प्रतियोगिता बिर्सनलायक रहयो। विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन्।

समूह चरणको तीनै खेल सुरुवात गरेका रोनाल्डोले प्रतियोगिताभर कुनै खेलमा पूरा ९० मिनेट खेल्न सकेनन्। प्रतियोगिताको नकआउट चरणको दुवै खेलमा उनी पहिलो रोजाइबाट बाहिर रहँदै बेन्चमा रहेका थिए। यसपटक विश्वकपमा रोनाल्डोले ५ खेलमा २ सय ९१ मिनेट मैदानमा बिताए।

विश्वकपबाट रुँदै बाहिरिएका रोनाल्डोले सन्यास लिन सक्ने चर्चा गरिन थालेको छ। तर पछिल्ला रिपोर्टहरुलाई मान्ने हो भने रोनाल्डो तत्कालै राष्ट्रिय टोलीबाट सन्यास लिने पक्षमा रहेका छैनन्। रोनाल्डो सन् २०२४ मा हुने युरो कप सम्म राष्ट्रिय टोलीमै रहने पक्षमा रहेका छन्।

पोर्चुगिज मिडियाहरुका अनुसार अहिले रोनाल्डो नियमित खेल्न पाउने क्लबको खोजिमा छन्। नयाँ क्लबमा राम्रो प्रदर्शन गर्दै पोर्चुगलको राष्ट्रिय टोलीमा स्थान बनाउन प्रतिष्पर्धा गर्ने रोनाल्डोको योजना रहेको छ। रोनाल्डोको टार्गेट अब जर्मनीमा हुने युरो कप हुने पोर्चुगिज मिडियाहरु बताउँछन्।

प्रकाशित : , ०, ०१७:२१

सिटीका कारण आर्सनल मालामाल !